नेपालमा गुरु पूर्णिमा अत्यन्त श्रद्धा, परम्परा र सांस्कृतिक विविधतासहित मनाइन्छ । यो पर्व आषाढ शुक्ल पूर्णिमाको दिन मनाइन्छ । यसपालिको गुरु पूर्णिमा जुलाई १० बिहीबार र नेपाली पात्रोअनुसार आषाढ २६ गते बिहीबार परेको छ । गुरु पूर्णिमा धार्मिक पर्व मात्र होइन; यो त आत्म बोध, कृतज्ञता र ज्ञानको उज्यालोको उत्सव पनि हो । नेपालमा यो दिनलाई शैक्षिक र आध्यात्मिक गुरुहरूको सम्मान स्वरूप मनाइन्छ । विद्यालय र कलेजहरूमा विद्यार्थीहरूले आफ्ना शिक्षकहरूलाई पुष्प, उपहार, सम्मान पत्र र भाषणमार्फत शुभकामना अर्पण गर्छन् । कतिपय शैक्षिक संस्थाहरूमा “शिक्षक दिवस”को रूपमा पनि मनाइन्छ । यो त्यो दिन हो, जुन दिनमा श्रद्धा भाव मात्र हुँदैन; जीवनको मूर्त मार्गदर्शन पनि बन्न पुग्छ ।
हिन्दु सनातन परम्परामा ‘गुरु’ शब्द कुनै औपचारिक संज्ञा होइन; उहाँ त आत्मिक यात्राको प्रथम ज्योति हुनुहुन्छ । ‘गु’ अर्थात् अन्धकार, र ‘रु’ अर्थात् निवारक । गुरु, जसले अज्ञानताको पर्दा च्यातेर सत्यको सूर्य उदाउँदै गर्नुहुन्छ । वेद व्यासले वेदको विभाजन गरेर ज्ञानको स्रोतलाई व्यवस्थित गर्नु भएको यही दिन, आज पनि युगौँ पछिसम्म ज्ञान-संस्कृतिका दीपझैँ बलेर बसिरहेछन् । व्यास पूर्णिमा, गुरु पूर्णिमा बनिन् त्यही व्यासको स्मृतिमा । तर आज पनि प्रत्येक युगमा, प्रत्येक मनमा कोही न कोही ‘व्यास’ जन्मिन्छन् गुरु बनेर । सनातन धर्मले गुरुलाई त्रिदेवको मूर्ति स्वरूप मानेको छ । ब्रह्मा जस्तै सिर्जना, विष्णुजस्तै संरक्षण र महेश्वरजस्तै विनाश । तर त्यो विनाश हो अहङ्कारको, अज्ञानताको ।
साहित्य, कला, दर्शन र धर्म सबैका मूलमा गुरु छन् । जीवनमा आइपर्ने अनेक संशय, पीडा र अपूर्णताबिच गुरु त हो जो एक मौन स्पर्शले सबै तुसारापात जस्तो पगालिदिन्छन् । आज हामी डिजिटल ज्ञानको युगमा छौँ । तर ज्ञान र विवेकबिचको पुल हराउँदै गएको अनुभूति गर्छौँ । यहाँ गुरु पूर्णिमा एक चेतना हो, जसले स्मरण गराउँछ; ज्ञान सूचना मात्र होइन, आत्म-प्रकाश पनि हो । आज, एकपल्ट हेरौँ; हाम्रा जीवनमा कहिल्यै नदेखिएका तर कहिल्यै नछोडिएका ती गुरुहरूप्रति । हाम्रा जीवनका शिक्षक, आमाबुवा, जीवनका कठिन मोडहरू, ती सल्लाह दिने साथी वा निःस्वार्थ सम्झाउने पुस्तक; सबै हाम्रो लागि ‘गुरु’ हुन सक्छन् । गुरु पूर्णिमाको दिन, समर्पणको चन्दनले आत्मालाई शुद्ध गरौँ । त्यो समर्पण जसमा न अहङ्कार छ, न स्वार्थ; केवल श्रद्धा छ गुरु पूर्णिमाको पावन अवसरमा सारा गुरु-तत्त्वलाई शिर झुकाउँदै नमन ।