प्रकाश भट्ट, कञ्चनपुर, २९ जेठ । यस वर्षको मनसुन अवधिमा हुन सक्ने प्राकृतिक प्रकोपबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले कञ्चनपुरमा ‘प्रभावमा आधारित मौसम पूर्वानुमान’ सम्बन्धी दुई दिने कार्यशाला बिहीबारदेखि सुरु भएको छ । कार्यशाला कञ्चनपुरका वेदकोट, भीमदत्त, दोधाराचाँदनी र डडेलधुराको परशुराम नगरपालिकालाई लक्षित गरी आयोजना गरिएको हो । मनसुनको समयमा बाढी, पहिरो र अन्य विपद्का घटनाबाट हुन सक्ने जनधनको क्षतिलाई कम गर्न प्रभावमा आधारित पूर्वानुमान प्रणालीको प्रयोग र त्यसको कार्यान्वयन विषयमा कार्यशालामा विस्तृत छलफल भइरहेको छ ।
मौसमसम्बन्धी पूर्वसूचना र त्यसका सम्भावित प्रभावलाई एकआपसमा जोडेर चेतावनी प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्य यस प्रणालीको हो । कार्यशालामा सम्बन्धित नगरपालिकाका जनप्रतिनिधि, विपद् सम्पर्क व्यक्ति, जल तथा मौसम विज्ञान विभाग तथा विभिन्न गैरसरकारी संस्थाहरू (एनएनएसडब्लुए, डिसिए, आइएचआरआर र नक्सा प्रा.लि.) का प्रतिनिधिहरूको सक्रिय सहभागिता छ । यसले विपद् व्यवस्थापनमा बहु-निकाय समन्वयको आवश्यकता र महत्त्वलाई झल्काएको छ । कार्यशालाको उद्घाटन सत्रमा नक्सा प्रा.लि. की प्रतिनिधि विद्या भण्डारीले स्वागत मन्तव्य दिँदै कार्यशालाको उद्देश्य, महत्व र स्थानीय तहमा यसले पार्न सक्ने सकारात्मक प्रभावबारे प्रकाश पार्नुभयो । उहाँले विपद् पूर्वतयारीमा स्थानीय समुदायको भूमिका निर्णायक हुने कुरामा जोड दिनुभयो ।
एनडीआरआरएमइका उपसचिव वेदनिधि खनालले यस वर्षको मनसुनलाई लक्षित गर्दै विभागले गरिरहेको तयारी र पूर्वसूचना प्रणाली सुदृढ गर्न चालिएका पहलहरूबारे जानकारी दिनुभयो । उहाँले मौसमसम्बन्धी अद्यावधिक जानकारीमा सहज पहुँचको महत्त्वमा पनि जोड दिनुभयो । जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनले प्रभावमा आधारित पूर्वानुमानको वैज्ञानिक पक्षबारे प्रस्तुति दिंदै विभिन्न बुलेटिन, पूर्वसूचना प्रणाली र तिनको प्रयोगद्वारा मानवीय तथा भौतिक क्षति कसरी कम गर्न सकिन्छ भन्ने विषयमा सैद्धान्तिक तथा व्यावहारिक जानकारी दिनुभयो । विपद् व्यवस्थापनमा समयमा प्राप्त विश्वसनीय सूचनाको आवश्यकताबारे पनि उहाँले विशेष जोड दिनुभयो ।
कार्यशालाको पहिलो दिनमा आईएचआरआरकी मौसमविद् मनिषा केसीले गत वर्ष आयोजित यस्तै कार्यशालाबाट प्राप्त अनुभवहरूको समिक्षा प्रस्तुत गर्नुभयो । विगतका अनुभवका आधारमा आगामी रणनीति अझ प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । डीसीएका व्यवस्थापक दिनेश गुरुङले पूर्वानुमान कार्यको आधारभूत अवधारणा, प्रभाव तालिका निर्माण र जोखिम विश्लेषण लगायतका प्राविधिक पक्षहरूबारे जानकारी दिनुभयो । उहाँले स्थानीय तहमा विपद् पूर्वतयारीका लागि आवश्यक प्राविधिक ज्ञान अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
कार्यशालामा दोधाराचाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले स्थानीय तहमा यस्ता कार्यशालाले विपद् पूर्वतयारी र प्रतिकार्यमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राख्नुभयो । उहाँले समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने खालका यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । समग्रमा, कञ्चनपुर र डडेल्धुराका जोखिममा रहेका नगरपालिकाहरूका लागि यो कार्यशालाले मनसुन पूर्वतयारीलाई थप सशक्त बनाउने र सम्भावित विपद् क्षति न्यूनीकरणमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।