हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीस्थित मायापुरी र गौरीशङ्कर सामुदायिक वन क्षेत्रमा सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी-आइसिपी बनाउन प्रस्ताव गरिएको छ । झन्डै दुई सय ८० बिगाहा क्षेत्रफलमा बन्ने आईसीपीमा भन्सार, बैङ्क, गोदाम, जाँच पास, सेड, रेल्वे प्लेटफर्म, सुरक्षा निकाय, पार्किङ यार्ड, कन्टेनर यार्ड, क्वारेनटाइनलगायतका आवश्यक भौतिक संरचना बन्नेछन् । प्रस्तावित सुख्खा बन्दरगाह क्षेत्र महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलदेखि पश्चिम करिब १२ सय मिटरको दूरीमा छ । "यो राष्ट्रिय गौरवकै योजना भएको कारण समग्र सुदूरपश्चिमसँगै देशलाई नै यसले आर्थिक क्षेत्रमा टेवा पुर्याउने कुरामा हामी सबै विश्वस्त छौँ ।" दोधारा चाँदनी नगरपालिका नगर प्रमुख किशोरकुमार लिम्बुले भन्नुभयो ।
केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको टोलीले प्रस्तावित सुख्खा बन्दरगाह निर्माण स्थलको स्थलगत अवलोकन गरेको छ । दाहाल यसअघि प्रधानमन्त्री हुँदा २०७३ मङ्सिरमा दोधारा चाँदनीकै कञ्जभोजमा निर्माण प्रस्ताव गरिएको थियो । तर त्यहाँ ठूलो मानव बस्ती उठाउनु पर्ने भएपछि गौरीशङ्कर र मायापुरी सामुदायिक वन क्षेत्रमा परियोजना प्रस्ताव गरिएको हो । यसका लागि जमिन प्राप्तिको सुनिश्चितता भएसँगै नेपाल इन्टर मोडल यातायात विकास समितिले सुख्खा बन्दरगाहको ईआईएमा सुझाव माग गरेको छ । यसअघि सरकारले आफ्नै लगानी र अनुभवमा निर्माण गर्ने भनिए पनि अहिले भारत सरकारको सहयोगमा तीन वर्षमा बन्दरगाह बन्ने गरी एमओयू भएर प्रक्रिया अघि बढेको छ ।
पहिलो चरणमा ७ र दोस्रो चरणमा ८ अर्ब गरी परियोजनाको कुल लागत १५ अर्ब रहेको छ । सुख्खा बन्दरगाह र आइसिपी बन्ने भएपछि सुदूरपश्चिम प्रदेशमा विकासको ढोका खुल्ने छ भनेर यहाँका नागरिक हषिर्त भएका छन् । सुदूरपश्चिम प्रदेशमा हुने व्यापारका लागि हाल ढुवानीका साधन नेपालगन्ज र भैरहवाबाट भित्र्याउने गरिएको छ । यो स्थान भएर तेस्रो मुकुलसँगको व्यापारको ढोका खोल्न दोधारा चाँदनीमा पूर्वाधार निर्माणको कार्यले तीव्रता पाउन जरुरी छ ।