कञ्चनपुर, १२ भदौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपा ८ काभ्रे अन्तर्गत सुदूरपश्चिम तथा कर्णाली प्रदेश मातहतको पुनर्वास नगरपालिका ३ आईबीआरडी शाखा कार्यालयले पुनर्वास नगरपालिका २ मोतिबस्तीका दान सिंह धनाडीको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ ।

गत असार २१ गते मोटरसाइकल र अटो दुर्घटनामा परी निधन भएका ५० वर्षीय अटो चालक धनाडीको परिवारलाई बीमा स्वरूप कुल रु. ५ लाख ८४ हजार ८० हस्तान्तरण गरिएको हो । यसमध्ये काजक्रियाका लागि तत्काल रु. २५ हजार प्रदान गरिएको थियो भने बाँकी रु. ५ लाख ५९ हजार ८० मृतककी श्रीमती मिना देवी धनाडीलाई हस्तान्तरण गरिएको हो ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख वीरेन्द्रकुमार झाले धनाडीको असामयिक निधनप्रति शोक व्यक्त गर्दै बीमा रकम हस्तान्तरण गर्नुभयो । कार्यक्रममा पुनर्वास नगरपालिका २ का वडा अध्यक्ष डम्बरबहादुर थापा, समाजसेवी रामसिंह बिष्टसहित स्थानीय बासिन्दाको उपस्थिति थियो । आईबीआरडी शाखा प्रमुख खगेन्द्र भट्टका अनुसार हाल शाखामा ८६३ जना सदस्य छन् ।

धनाडीले २०८० साल फागुन २४ गते ३ लाख ५० हजार रुपैयाँ ऋण लिएको र २०८१ साल फागुन १९ गते उक्त ऋण पूर्ण रूपमा चुक्ता गरिसकेको भए पनि ऋणको भाका २०८५ साल माघ २३ गतेसम्म रहेको जानकारी दिनुभयो । भट्टले संस्थामार्फत एकल महिलालाई सीपमूलक तालिम, जनचेतनामूलक कार्यक्रमलगायतका सामाजिक गतिविधि निरन्तर सञ्चालन भइरहेको पनि बताउनुभयो ।

त्यसैगरी वडा अध्यक्ष थापाले मृतक परिवारलाई धैर्य धारण गर्न आग्रह गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुभयो । अन्य लघुवित्त तथा सहकारी संस्थामा अनियमितता हुने घटना भए पनि पुनर्वासमा भने त्यस्तो नभएको उल्लेख गर्दै उहाँले लघुवित्त संस्थालाई जनहितका कार्यक्रममा निरन्तर लागिरहन सुझाव दिनुभयो ।

प्रदेश प्रमुख झाले नेरुडे मिर्मिरे लघुवित्तले देशभरका २२५ शाखामार्फत सामाजिक तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेको बताउनुभयो । उहाँका अनुसार जनताको बचतलाई सुरक्षित राखी भविष्यमा उपयोगी हुनेगरी सदुपयोग गर्ने कार्यमा संस्था निरन्तर खटिरहेको छ ।