हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ माघ । कञ्चनपुरको बेलौरीमा तेस्रो नगर स्तरीय एवम् १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिएको छ । बुधबारबाट बेलौरीको खुला मञ्चमा सञ्चालित प्रतियोगितामा बेलौरी नगरपालिका क्षेत्र भित्रका सामुदायिक र संस्थागत विद्यालय गरी २६ वटा विद्यालयहरूको सहभागिता रहेको बेलौरी नगर खेलकुद विकास समितिका अध्यक्ष रामेश्वर न्यौपानेले जानकारी दिनुभयो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री सन्तोष कुमारी शर्मा थापाले सङ्घीय सरकार र प्रदेश सरकार तथा स्थानीय तहको समन्वय र सहकार्यका खेलकुद लगायत समग्र विकासका गतिविधि चलायमान बनाउन सकिने धारणा राख्नुभयो । अहिले प्रदेश सरकारले पूर्णता पाइ नसकेको अवस्थामा धेरै भनिहाल्न उचित नभएको उल्लेख गर्दै प्रदेश सरकारले पूर्णता पाएसँगै क्षेत्राधिकार भित्र रहेर गर्नुपर्ने कार्यहरू तीव्रताका साथ गरिने उहाँको भनाइ छ ।

उद्घाटन समारोहको समापनका क्रममा सम्बोधन गर्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले खेललाई सभ्य र भव्यताका साथ सम्पन्न गर्न सबै पक्षलाई आग्रह गर्दै खेलकुदका गतिविधिहरूलाई बढाइने उल्लेख गर्नुभयो । प्रतियोगिता अन्तर्गत बुधबार देखिनै खेलकुदका गतिविधिहरू समेत सुरुवात गरिएको र २१ गतेसम्म सबै खेलहरू सम्पन्न गरिसक्ने योजना रहेको बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बताउनु भएको छ । उक्त प्रतियोगितामा युवा रेडक्रस सर्कल महाकाली माविको टाेलीले प्रतियोगीहरूलाई प्राथमिक उपचार सेवामा सहजीकरण गरिरहेको बताइएको छ ।

बुधबारदेखि नै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले समेत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरेको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले जानकारी दिनुभएको छ ।