हरिश्चन्द्र बाग, कञ्चनपुर, ०८ फागुन । कञ्चनपुरको बेलौरीमा १३औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । कञ्चनपुर खेलकुद विकास समितिको आयोजनामा जिल्लाका ९ वटै पालिकाका टिमको सहभागितामा सोमबारदेखि बेलौरी नगरपालिका वडा नम्बर २ गोकुलपुरमा १३औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद विकासका लागि प्रदेश सरकारले योजना ल्याउने बताउनु भयो ।
गत विगतमा प्रायः जसो जिल्ला सदरमुकाममा नै जिल्ला स्तरीय प्रतियोगिता हुने गरेकोमा यस वर्ष केही नयाँ गर्ने उद्देश्यले कञ्चनपुरको दक्षिणी क्षेत्रमा प्रतियोगिताको आयोजना गरिएको कञ्चनपुर खेलकुद विकास समितिका अध्यक्ष कुवेर खड्काको भनाइ छ । जिल्ला स्तरीय छनौट प्रतियोगिता ३ दिनसम्म सञ्चालन हुने छ । प्रतियोगितामा एथलेटिक्स सहित भलिबल, कबड्डी, उसु, कराँते लगायतका विधामा प्रतिस्पर्धा गराइँदै छ । जिल्लाबाट छनौट भएका खेलाडी प्रदेश हुँदै केन्द्रमा पुग्ने बताइएको छ ।
