भोजराज पन्त, डडेलधुरा, ३० बैशाख । डडेलधुराको आलिताल गाउँपालिका वडा नम्बर ३ मा पर्ने आलिताल पर्यटकीय तथा धार्मिक ताल हो । आलिताल जति पर्यटकीय रूपमा प्रसिद्ध छ, त्यति नै धार्मिक रूपमा पनि आफ्नो महत्त्व बोकेको छ । आलितालमा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटक दैनिक ५० जना भन्दा बढी आउने गरेको तालका पाले गगन सिंह पुनले बताए । अहिले दैनिक पर्यटक आउने क्रम बढेको छ । पहिला पहिला स्थानीय मात्र आउने गरेको भए पनि अहिले जिल्ला बाहिरका र भारतीय पर्यटक पनि आउने गरेका छन् । आलिताल हेर्न आउने पर्यटकलाई पुनले बाँसुरीको धुन सुनाई मनोरञ्जन गराउँदै आइरहेका छन् ।
पर्यटकहरूको सुविधाको लागि तालको चारैतिर पक्की पदमार्ग र भ्युटावर समेत बनाइएको छ । धार्मिक रूपमा पनि भक्तजन आउने क्रम समेत पहिलेको भन्दा बढेको छ । भगवती, समैजी, बराह देवताको सङ्गम स्थल भएकाले धार्मिक रूपमा पनि त्यति नै महत्त्व बोकेको छ । भक्तजनहरूले साँचो मनले सोच्यो भने मनोकामना समेत पुरा हुने बिश्वास रहेको छ । आलितालको जति प्रचार प्रसार हुनुपर्ने, त्यति प्रचार प्रसार नभएको हुँदा गाउँपालिकाले अझै प्रचार प्रसारमा जोड दिनु पर्ने आन्तरिक पर्यटक अम्बर थापामगरले बताए ।
बैतडीको पाटनबाट आएका पर्यटक सन्देश भट्टले यो तालको छेउमा एउटा आलिताल लेखेको बोर्ड समेत नराखिएकोमा दुःख प्रकट गरे । हामी आलिताल पुग्यौँ भन्ने कुरा फोटोबाट साथीभाइलाई सजिलै देखाउन सकिन्थ्यो । आलितालको सही प्रचार प्रसार भयो भने यो तालबाट गाउँपालिकाको राम्रो आम्दानी समेत हुन सक्ने दार्चुलाबाट आएका अर्का पर्यटक वीर बहादुर धामीले बताए । डुङ्गामा आलिताल घुम्ने रहरले आएका कञ्चनपुरका लोकराज बोहरा जब आलिताल पुगे, तब त्यहाँ डुङ्गा बिग्रिएको देखेर उनले दिक्क लागेको सुनाए । बाटो पनि धुलाम्मे रहेकोले बाटो फराकिलो र कालोपत्रे हुनु पर्ने उनले बताए । अब स्थानीय सरकारले यथाशीघ्र डुङ्गा बनाई सञ्चालनमा ल्याउनु पर्ने र पर्यटकहरूको लागि बाटोमा सुधार ल्याउनु पार्नेमा उनको जोड छ । स्थानीय सरकार भएपछि आलितालमा आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या पहिलेको भन्दा बढ्दो क्रममा रहेको छ ।