तर्कराज भट्ट, डडेल्धुरा, १४ माघ । ऐतिहासिक महत्व बोकेको डडेल्धुराको अमरगढी किल्ला पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । केही समय अघिसम्म सुनसान जस्तै देखिने अमरगढी किल्लामा पछिल्लो समय भने आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको अमरगढी किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिले जनाएको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा मात्र एक हजार पाँच सय पर्यटक किल्ला घुम्न पुगेका छन् । अमरगढी किल्ला नेपाली वीरहरूको साहस र बलिदानको प्रतीक भएको समितिका अध्यक्ष प्रविण जैरुले बताए ।
अमरगढी नगरपालिकाले स्थानीय पाठ्यक्रममा पनि अमरगढी किल्लालाई समेटेको छ । यहाँ पछिल्लो समय किल्लामा शैक्षिक भ्रमणको सङ्ख्या बढिरहेको छ । विभिन्न क्षेत्रबाट विद्यालय तथा क्याम्पसले विद्यार्थीलाई अमरगढी किल्ला घुमाउन ल्याउने गरेका हुन् । किल्ला घुम्न आएका श्रीकृष्ण माध्यमिक विद्यालय पाटन बैतडीका विद्यार्थी प्रविनले विद्यार्थीहरुका लागि किल्ला भ्रमण गर्नु आवस्यक रहेको बताए । उनले पाठ्यपुस्तकमा पढेका बिषयवस्तुको अवलोकन गर्न पाउँदा खुसी लागेको बताए ।
नेपालका जीवित गढीहरुमध्येको अमरगढी किल्ला समुद्री सतहबाट करिब छ हजार पाँचसय फिट उचाइमा रहेको छ । अमरगढी किल्ला बडाकाजी अमरसिंह थापाले राज्यविस्तार गर्ने क्रममा १९४७ सालमा स्थापना गरेको अभिलेख भेटिन्छ ।
बैतडीको सुर्नयाबाट किल्ला भ्रमण गर्न आएका रणबहादुर बिष्टले यसक्षेत्रको एकमात्र जीवित गढी अमरगढी किल्ला भएकाले यसको प्रचारप्रसार गरी आन्तरीक तथा वाह्य पर्यटक भित्र्याउन जरुरी रहेको बताए ।
अमरसिंह थापाले नेपालको महाकाली पारी पश्चिम काकँडासम्म विजय अभियानलाई जारी राख्न यो किल्ला निर्माण गर्न लगाएको इतिहासमा पढ्न पाइन्छ । गढीमा मासको गारोले लिपिएका ठूला–ठूला ढुङ्गा प्रयोग गरिएकाले यो निकै कलात्मक छ । डडेल्धुराको अमरगढी नगरपालिका यसै अमरगढी किल्लाको नामबाट २०५४ सालमा स्थापना भएको थियो । २०६६ सालसम्म किल्लाको संरक्षण नेपाली सेनाले गर्दै आएकोमा पछि शसस्त्र प्रहरी किल्लाको संरक्षण र सुरक्षाका लागि गढीका बसेको थियो । अहिले यो किल्ला अमरगढी नगरपालिकाको मतहत रहेको छ ।
अमरगढी नगरपालिकाले यसको संरक्षणका लागि प्रदेश सरकार, संघिय सरकार, नेपाली सेना र अमरगढी किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिको साझेदारीमा काम गरिरहेको जनाएको छ । किल्ला संरक्षणका लागि सरसफाई गर्ने, जिर्णोद्धार गर्ने र मर्मत सम्भार गर्ने काम भईरहेको अमरगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले बताए । उनले मर्मत सम्भारकै लागि केही काममा नगरपालिकाले र केही कामका लागि नेपाली सेनाले टेन्डर गरिसकेको तथा अन्य कामका लागि संघिय सहरी कार्यालयले टेन्डर आह्वान गर्ने तयारीमा रहेको बताए ।
इतिहास र प्राकृतिक सुन्दरताले भरिएको अमरगढी किल्लाको संरक्षण र प्रवद्र्धन गर्न नगरपालिकाले स्थानिय पाठ्यक्रममा समेत अमरगढी किल्लालाई समावेस गरेको जनाएको छ ।