हरिश्चन्द्र बाग, कञ्चनपुर, ०३ बैशाख । रूढीवादी परम्परा अनुसार धामीझाँक्रीबाट झारफुक गराउँदा कञ्चनपुरमा एक बिरामी महिलाको मृत्यु भएको छ । अस्वस्थ हुँदा उपचारका लागि राम्रो अस्पतालमा नगई केही दिनदेखि धामीझाँक्रीबाट झारफुक गराउँदा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ६ बस्ने ४३ वर्षीया रन्चुला साउँदको मृत्यु भएको हो । “रूढीवादी परम्परा र धामीझाँक्रीका कारण एकल महिला रन्चुला साउँदले ज्यान गुमाउनु प¥यो । यो जघन्य अपराधको घटना हो । उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषी माथि कडा भन्दा कडा कारबाही होस् र पीडित पक्षले न्याय पाओस् ।” घटनाबारे जानकारी दिँदै वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले भन्नुभयो ।
भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्ने धामीझाँक्री धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका वडा नम्बर १ बाराकुण्डा बस्ने धामीझाँक्री नारायण दत्त भट्टको नेतृत्वमा मुसेपानी स्थित स्थानीय कमला साउँदको घरमा जघन्य अपराधको घटना भएको नगर प्रमुख चन्दले बताउनु भयो । मृतक महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा राखिएको छ । घटनाबारे अनुसन्धानका लागि प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिनुभयो ।
