हरिश्चन्द्र बाग, कञ्चनपुर, २५ फागुन । कञ्चनपुरको कृष्णपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरिया बजारस्थित सडकमा सु.प.प्र.०१००१ च २६२३ नम्बरको बोलेरो जिपले सु.प.प्र.०२००३ प ९८८६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ बस्ने २५ वर्षीय मनिष चौधरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट घाइते भएका मोटरसाइकल चालक र सोही मोटरसाइकलमा सवार गरी थप २ जना घाइतेहरूको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ । जिप चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।