हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ जेठ । कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ मालिका टोलस्थित सडकमा म १ त ५७३ नम्बरको ट्याक्टरबाट झर्ने क्रममा हाम फाल्दा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४८ वर्षीय देव दत्त भट्टको सोमबार दिउँसो मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल हुँदै थप उपचारको लागि भारतको बरेलीतर्फ लैजाने क्रममा बाटैमा मृत्यु हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणी चौराहास्थित सडकमा सु प प्र ००१ क १६५३ नम्बरको क्रेनको ठक्करबाट पैदल यात्री सोही नगरपालिका-२ वाणी बस्ने ७० वर्षीय फूलपाती चौधरीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यी दुवै घटनाको थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।