हरिश्चन्द्र बाग, कञ्चनपुर, २२ चैत । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी-पुनर्वासमा पछिल्लो केही दिनयता बाघ र हात्तीको त्रास बढ्दै गएको छ । पछिल्लो जानकारी अनुसार पुनर्वास र बेलौरीका भारतसँग सीमा जोडिएका गाउँ बस्तीहरूमा बाघ देखिन थालेकोले थप त्रास बढेको हो ।
पुनर्वास १० भीमबस्ती, पुनर्वास ४ शहिद गौतम चोक, सीमा स्तम्भ नम्बर २०२, २०३, २०४ क्षेत्र बेेलौरी १ र २, बेलौरी ६ स्थित भन्सार क्षेत्र देखि बेलौरी ७ र ८ पचुइसम्म बाघ देखापरेको स्थानीयको भनाइ छ । मंगलबार साँझ मात्रै पनि पुनर्वास स्थित सहिद गोविन्द गौतम स्मृति पार्क आसपास, बेलौरीको १ र २ नम्बर वडा क्षेत्र, बेलौरीकै ६, ७ र ८ नम्बर वडा क्षेत्रको दक्षिणतर्फ नेपाल-भारत सीमा आसपासको क्षेत्रमा बाघ देखिएको स्थानीय नागरिकहरूबाट जानकारी प्राप्त भएको छ । यी क्षेत्रहरूमा देखिने बाघ छुट्टाछुट्टै भएको स्थानीयको दाबी छ । बाघको त्रास बढेपछि बेलौरी नगरपालिका वडा नम्बर १ र २ को क्षेत्रमा इलाका प्रहरी कार्यालय बेलौरीले भ्यान सहित सुरक्षाकर्मी परिचालन गरेको प्रहरी निरीक्षक सन्दीप चन्द्र शाहले जानकारी दिनुभयो ।
पछिल्लो दुई सातायता बाघको आक्रमणबाट मानवीय क्षति हुन थालेपछि कुण्डा सब डिभिजन वन कार्यालय पच्कडिया कञ्चनपुरको टोलीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीय युवाहरूको टोलीले सीमा क्षेत्रमा निगरानी समेत बढाएको छ । मंगलबार साँझ मात्रै पनि भारतको दुधुवा नेशनल पार्कबाट हात्तीको बथान समेत नेपाल प्रवेश गरेको छ । अहिले पुनर्वास नगरपालिका वडा नम्बर ९ मा हात्तीको बथान प्रवेश गरेको कुण्डा सब डिभिजन वन कार्यालय पच्कडिया कञ्चनपुरका प्रमुख, सहायक बन अधिकृत दिनेश कुमार यादवले जानकारी दिनुभएको छ ।
अहिले बाघ र हात्तीले नेपाल भारत सीमा क्षेत्रमै ओहोरदोहोर गर्ने गरिरहेको हुँदा सबैलाई सतर्कता अपनाउन सब डिभिजन वन कार्यालयले सार्वजनिक आह्वान गरेको छ । खेतीपाती गर्ने कृषक तथा उक्त क्षेत्रमा ओहोरदोहोर गर्ने नागरिकहरूलाई थप सचेत रहन अनुरोध गरिएको छ । मानव वन्यजन्तुबिचको द्वन्द्व बढ्दै जान थालेपछि अब छिट्टै माथिल्लो निकायसँग क्यामेरा माग गरी बढी जोखिम रहेका ठाउँहरूमा जडान गरिने उहाँको भनाइ छ ।
यही चैत १० गतेका दिन भारतको दुधुवा नेशनल पार्कमा घाँस दाउरा गर्न गएकी कञ्चनपुरको पुनर्वास १० मदनटोल बस्ने अन्दाजी ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमणमा परी घटनास्थलमै मृत्यु भएको थियो । त्यसको ठिक एक हप्तापछि यही चैत १७ गतेका दिन कञ्चनपुरको बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट एक जना भारतीय महिलाको मृत्यु भएपछि सीमावर्ती क्षेत्रमा बाघको त्रास फैलिएको हो । बाघ बस्तीमा पस्न नदिन ती क्षेत्रका नागरिकहरू रातभर जाग्राम बस्न बाध्य छन् ।