हरिश्चन्द्र बाग, बैतडी, २५ असार । बैतडीको मेलौलीमा सोमबार दिउँसो भएको बस दुर्घटनाका अधिकांश घाइतेहरूको पहिचान खुलेको छ । मेलौली नगरपालिका ७ सुवाखान भन्ने स्थानमा बैतडीको शिवनाथ स्थित सुल्लेखानबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ सवार लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस एक्कासि अनियन्त्रित भई सडकबाट अन्दाजी तीन सय मिटर तल खसेर दुर्घटना भएको हो । बस दुर्घटना भएको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिई बसमा सवार चालक सहित ३९ जना सबै घाइतेलाई उद्धार गरी मेलौली नगरपालिका ७ स्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र काँडा बैतडीमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिनुभयो । घाइते मध्ये बैतडीको पञ्चेश्वर गाउँपालिका ६ रन्तोली बस्ने २८ वर्षीय उमेश भण्डारीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । झण्डै तीन घण्टापछि सो दुर्घटनाका अधिकांश घाइतेहरूको पहिचान खुलेको छ । दुर्घटनामा परेर घाइते भएका ४१ जना मध्ये ३६ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ । ५ जनालाई घटनास्थलबाटै अस्पताल रेफर गरिएकोले परिचय खुल्न समय लाग्ने जनाइएको छ ।
घाइतेहरूको नामावली विवरण :
घाइतेहरूमा बस चालक ३५ वर्षीय देव भण्डारी सहित मेलौली नगरपालिका–०७ बस्ने २५ वर्षीय मञ्जु पार्की, ५० वर्षीया उसा दमाई, ३५ वर्षीय विनोद दमाई, मेलौली नगरपालिका–०९ रोकटा बस्ने ५५ वर्षीया कमला चन्द, १८ वर्षीया कल्पना चन्द, शिवनाथ गाउँपालिका–०१ बस्ने ४० वर्षीय भरत साउद, शिवनाथ गाउँपालिका–०४ बस्ने १८ वर्षीया पूजा साउद, ५२ वर्षीया कालु राम कोली, ५० वर्षीया परु कोली, विमला दमाई, शिवनाथ गाउँपालिका ५ बस्ने २१ वर्षीया मिना चन्द, शिवनाथ गाउँपालिका–०५ बस्ने २६ वर्षीय बिर्पल धनाडी, २४ वर्षीया शोबधरा धनाडी, ९ महिने आशिष् धनाडी, १३ वर्षीय प्रकाश कार्की, २० वर्षीया लक्ष्मी चन्द, कृष्ण सुतार, पञ्चेश्वर गाउँपालिका–०२ बस्ने २७ वर्षीय केशव राम लुहार, १३ वर्षीया दीपिका भट्ट, पञ्चेश्वर गाउँपालिका–०३ बस्ने ९ वर्षीया दिया चन्द, ३५ वर्षीया सिता चन्द, १५ वर्षीया रेशमा चन्द, ७ वर्षीया दीपेश चन्द, ४५ वर्षीय सुरत बहादुर चन्द, १८ वर्षीया सङ्गीता चन्द, ४३ वर्षीय सुरत चन्द, ३७ वर्षीय खडक चन्द, २५ वर्षीय कृष्ण साही, ७५ वर्षीया सेतु चन्द, पाटन नगरपालिका ५ बस्ने ३५ वर्षीय केशव सिंह ठगुन्ना, कञ्चनपुरको दोधाराचाँदनी बस्ने क्रिस भण्डारी, पार्वती भण्डारी, महेन्द्रनगर बस्ने १७ वर्षीया निशा भट्ट, १५ वर्षीय विपिन भट्टको पहिचान खुलेको छ । अधिकांश घाइतेहरूलाई डडेलधुरा अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।