कञ्चनपुर, २८ साउन । कञ्चनपुरको उत्तरी चुरे क्षेत्रमा यही साउन २२ र २३ गते राति परेको अविरल वर्षाका कारण पुनर्वास नगरपालिका वडा नं. ५ का होचा बस्ती सिमरी र रातो ताल डुबानमा परेका थिए । दुई दिनसम्म चुरे क्षेत्रमा परेको भारी वर्षाको कारण पुनर्वासको सिमरीमा ३१ घर र रातो तालमा ५ घर साउन २३ गते बिहान ६ बजेदेखि डुबानमा पर्न सुरु भएको थियो । घरमा करिब ३ फिटसम्म डुबान भएको कारण ३६ घर धुरीहरू आफन्त र छिमेकीको घरमा अस्थायी रूपमा बस्न बाध्य भएका थिए । २३ गते राति पुनः चुरे क्षेत्रमा परेको भारी वर्षाका कारण २४ गते बिहान ७ बजेदेखि पुनः सिमरी र रातो तालका ३६ घरधुरीहरू डुबानमा परेका थिए । जसले गर्दा उनीहरूलाई घरमा खाना पकाएर खाने वातावरण नहुँदा तत्काल सबै प्रभावित घरधुरीहरूलाई सामूहिक खानाको व्यवस्थापनका लागि भीमसेन सामुदायिक विपद् व्यवस्थापन समितिको व्यवस्थापनमा नगरपालिकाको खाद्यान्न सहयोग र एनएनएसडब्ल्युएको एमरेड परियोजनाका तर्फबाट शुद्ध पिउने पानी, त्रिपाल र टर्च लाइटको व्यवस्थापन गरिएको थियो ।
नगरपालिकाको प्रभावित घरधुरीहरूको सर्वेक्षणको आधारमा ३६ घरका १९४ जना प्रभावित भएका थिए । समुदायलाई तत्काल घर फर्कन सहजताका लागि अति आवश्यक मानवीय सहायता सामाग्रीहरूको माग भएको र नगर स्तरीय विपद् व्यवस्थापन समितिबाट पनि विकास साझेदारी संस्थाहरूसँग सहयोगका लागि आह्वान गरिरहेको अवस्थामा मर्सिकोर नेपाल र एनएनएसडब्ल्युएको साझेदारीमा सञ्चालित एमरेड परियोजनाबाट ३६ प्रभावित घरधुरीहरूलाई तत्कालका लागि अति आवश्यक मानवीय सहायता सामाग्रीहरू (त्रिपाल–१ सेट, रबर बुट–१ जोर, वाटर गार्ड÷प्युस– १ थान, प्लास्टिक बाल्टी– १ थान, मग– १ थान, प्लास्टिक गुन्द्री– १ थान, प्लास्टिक बोरा– १ थान, झुल – १ थान, हातेपञ्जा – १ जोड, टर्च लाइट – १ थान, हाइजनिक किट– १ सेट र नाइलन डोरी– १ थान, प्लास्टिक डोरी–१ थान) ३६ सेट नगरपालिका र भीमसेन सामुदायिक विपद् व्यवस्थापन समिति मार्फत साउन २७ गते वितरण गरिएको बताइएको छ ।
सामग्री वितरण कार्यक्रममा बोल्दै एनएनएसडब्ल्युएका कार्यकारी निर्देशक अशोक विक्रम जैरु भन्नुहुन्छ, “यहाँहरूलाई तत्काल घर फर्कन सहायताका लागि हामीले गरेको सहयोग केवल एउटा सानो सहयोग मात्रै हो । विपद् प्रति स्थानीय सरकार संवेदनशील हुन् अति नै आवश्यक छ । यो समयमा जो कोहीले पनि आफ्नो तर्फबाट सहयोग गर्नुपर्छ । कुनै पनि विपद्को सामना गर्न समुदाय आफै सक्षम हुनुपर्छ र त्यसका लागि नगरपालिका र सबै विकास साझेदारहरूले समुदायको विपद् पूर्व तयारी क्षमता, प्रतिकार्य गर्न सक्ने क्षमता र विपद् पश्चात् पूनर्लाभको अवस्थामा फर्कन सक्ने क्षमता बढाउने खालका योजनाहरू गर्न जरुरी छ ।”
त्यसै गरी पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया कुमारी राना भन्नुहुन्छ, “विपद्को समयमा आपसी सद्भाव र एकता ठुलो कुरा हो । आज जसरी समुदायले विपद्को समयमा सबै मिलेर प्रभावित घरधुरीका लागि गास वासको व्यवस्था गरेको छ यो ठुलो कुरा हो । यो मानवीय सहायता सामग्रीको लागि एनएनएसडब्लुए र मर्सीकोर नेपाललाई धेरै धेरै धन्यवाद । यहाँहरूको यो सहयोगलाई हामीले सिकाइको रूपमा लिएका छौँ । यहाँहरूसँगको सहकार्यले हामीलाई थप ऊर्जा प्रदान गरेको छ । जिम्मेवार बनाएको छ । विपद्को समयमा हामी सबै जिम्मेवार हुन् आवश्यक छ । हामी सबैले आफूले गर्न सक्ने सहयोग गर्नुपर्छ । समुदायले क्षतिको वास्तविक विवरण दिनमा जिम्मेवार हुनुपर्छ । अघिल्लो सालको सिकाइबाट हामीले पनि यो वर्ष रबर बोट किनेका छौँ । पूर्व सूचना प्रणाली स्थापना गरेका छौँ । जसले गर्दा यो वर्ष समयमै सूचना प्राप्त भएर सुरक्षित हुन सकेका छौँ र आगामी दिनहरूमा सिकाइलाई निरन्तरता दिँदै विपद्बाट हुने क्षति कम गर्न हामी सफल हुने छौँ ।”
विपद् फोकल पर्सन ओमनाथ ढकालले जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष बुलेटिनमा साउन २७ गतेदेखि २९ गतेसम्म अति भारी वर्षा हुने पूर्वानुमान भएको हुँदा सबै जना सतर्क रहन आग्रह गर्दै विशेष परिस्थितिमा अटोमेटिक साइरन पनि बजाउने योजना रहेको कुरा जानकारी गराउनु भयो । प्रभावित घरधुरीहरूलाई नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाको तर्फबाट पनि मानवीय सहायता सामग्रीहरू (कम्बल, त्रिपाल, झुल, म्याट) वितरण गरिएको बताइएको छ ।