किशोर तामाङ, काठमाडौँ । कञ्चनपुरको दक्षिणी भेग निर्वाचन क्षेत्र नं १ का ४ वटै पालिकाहरूले संयुक्त रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष विभिन्न मागसहितको ज्ञापन पत्र बुझाएका छन् । कञ्चनपुरको दक्षिणी भेग स्थित निर्वाचन क्षेत्र नं. १ को समग्र विकासका निम्ति पूर्व खानेपानी मन्त्री बिना मगरको अगुवाइमा सुदूरपश्चिम प्रदेश सांसद दिवान सिंह बिष्ट, पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा, बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र राना, पुनर्वास नगरपालिका वडा नं ९ का वडाध्यक्ष नर बहादुर बिक, बेलौरी नगरपालिका वडा नं. ५ का अध्यक्ष लाल बहादुर चौधरी, नेकपा माओवादीका केन्द्रीय सदस्य दिपा चौधरी, नेपाली काँग्रेसका महासमिति सदस्य भरत बिष्ट, नेकपा माओवादीका सु,प.प्र. सदस्य दीपक तिमिल्सेना, नेपाली काँग्रेसका जिल्ला सदस्य यज्ञ खड्का नेबिसंघ केन्द्रीय सदस्य दिनेश शर्मा लगायतको टोलीले स्थानीय समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका थिए ।
पूर्व खानेपानी मन्त्री मगरको नेतृत्वमा समग्र कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ को विकासमा वर्तमान अवस्थामा प्राविधिक शिक्षाको अति नै खाँचो रहेको औँल्याउँदै प्रविधिमा फड्को मार्न प्राविधिक शिक्षालयको आवश्यकता रहेको बताउँदै प्रधानमन्त्री र परराष्ट्र मन्त्री भारतको औपचारिक भ्रमणमा रहँदा भारत सरकारले राष्ट्रिय प्राविधिक शिक्षालय National Technical Institute (NTI) स्थापना का लागि सहयोग गर्ने सहमति गरेका विषय बारे स्मरण गराएका थिए । प्रधानमन्त्री प्रचण्डलाई डेलिगेसन मार्फत पुनर्वास नगरपालिका वडा नं. ३ स्थित ६५ बिगाहामा नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनीको जमिनमा National Technical Institute (NTI) स्थापना र सञ्चालन गर्न प्रधानमन्त्री समक्ष जोडदार माग राख्दै ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएका थिए । त्यसै गरी कञ्चनपुरको दक्षिणी भेग स्थित यस क्षेत्रका ४ पालिकाहरूको मुख्य द्वार भनेको धनगढी भएको हुँदा, धनगढी हुँदै आवतजावत गर्न गौरीफन्टा अन्तर्राष्ट्रिय भन्सार नाकाको कारणले धनगढी उपमहानगरपालिका वडा नं. ३ स्थित कैलाली भन्सार कार्यालयले राती १० बजे पछि मोहना नदीमा रहेको पुलबाट आवतजावत बन्द गर्ने गरेको हुँदा यस क्षेत्रका बासिन्दालाई आवत जावतमा कठिनाइ हुँदै आएकोले उक्त भन्सारको बाटोका कारणले ब्यहोर्नुपर्ने झन्झट हटाउनका साथै समग्र क्षेत्र नं. १ को विकासका लागी पुनर्वास नगरपालिका वडा नं. ११ टाउकेबजार र धनगढी उपमहानगरपालिका वडा नं. ३ बडेहरा जोड्ने गरी मोहना नदीमा पक्की पुल निर्माणको विषयमा समेत ध्यानाकर्षण गराएका थिए ।
यसै गरी बेलौरी नगरपालिका वडा नं. ५ रामनगर र लालझाडी गाउँपालिका वडा नं. २ को बिचमा पर्ने दोदा नदीमा पक्की पुल निर्माण, बेलडाँडी गाउँपालिका वडा नं. १, २,५, ४ र ३ हुँदै बेलौरी न.पा. वडा नं. ९ हुँदै लालझाडी गा.पा. वडा नं. ६ चानदेव जोड्ने रिङ रोड निर्माण, वैवाहादेखि ढकनीय जोड्ने भोग्ला नदीको सागाघाटमा पक्की पुल निर्माण का एजेन्डा अगाडि सार्दै संयुक्त रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन् । भौगोलिक, आर्थिक र सामाजिक कारणले प्राविधिक शिक्षा एवं सीपमूलक व्यावसायिक तालिमको पहुँचबाट वञ्चित वर्गलाई समावेश गर्न नसकेको स्थिति छ । तसर्थ राज्यको पहुँचबाट वञ्चित वर्गहरूलाई मध्यनजर राखी प्राविधिक शिक्षा र सीपमूलक व्यावसायिक तालिमबाट मात्र आर्थिक तथा सामाजिक उन्नतिमा टेवा पुग्ने पूर्व खानेपानी मन्त्री मगरले बताइन् । उनले पिछडिएको क्षेत्रको समग्र विकासका लागि कञ्चनपुरको पुनर्वासमा प्राविधिक शिक्षा तथा सीपमूलक व्यावसायिक तालिम सञ्चालन गर्न गराउनका लागि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको बताइन् । यसै गरी डेलिगेसनका क्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले सरकारले जनतालाई परिवर्तनको महसुस हुने गरी काम गर्न प्राविधिक शिक्षालयले मुख्य भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्दै स्वदेशमा नै प्राविधिक शिक्षालयबाट स्थानीय स्तरमा रोजगारीको वातावरण बनाउने र विदेशमा रोजगारीको खोजीमा गएका युवालाई स्वदेशमा फर्काउने माध्यम बन्न सक्ने जिकिर गरे ।
पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले रोजगारीका अवसर प्राप्तिका लागि प्राविधिक शिक्षा आजको आवश्यकता भएको धारणा राखेका छन् । पालिकामा प्राविधिक शिक्षालय निर्माणका लागि केन्द्रीय सरकारसँग हातेमालो गर्न स्थानीय सरकार कटिबद्ध रहेको उनको भनाइ छ। नगरप्रमुख शर्माले थपे, "यदि प्राविधिक शिक्षालय निर्माण भयो भने समग्र दक्षिणी भेगका सबैको लागि गौरवको विषय हो, विद्यार्थीले पढ्ने बानीको विकास गर्नुपर्छ, प्राविधिक विषय पढेपछि रोजगारीका अवसर थुप्रै भेटिन्छन् त्यसैले यसको स्थापनाका निम्ति सरोकारवाला निकायले ध्यान दिन अनुरोध छ ।" यसै गरी बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीले बेरोजगारीका कारण जटिल अवस्थाबाट गुज्रिरहेको युवा पुस्तामाझ विकासका पूर्वाधार र प्राविधिक शिक्षालय निर्माणले सही दिशा दिई जनताको वृद्धि विकासमा टेवा पुग्ने बताए । उनले सरकार मार्फत कञ्चनपुरको दक्षिणी भेगका समस्याको सूक्ष्म विश्लेषण र अनुगमन गरी ठोस पहल कदम चाल्न प्रधानमन्त्री समक्ष आग्रह गरेका छन् ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम आजको आवश्यकता रहेको बताउँदै नागरिकलाई प्राविधिक रूपमा दक्ष बनाउन र रोजगारीको अवसरसमेत सिर्जना गर्ने लक्ष्यका साथ राष्ट्रिय प्राविधिक शिक्षालय स्थापनाको विषयमा र आवतजावत सहरीकरणका लागि पुल निर्माण सम्बन्धी आफू सकारात्मक रहेको प्रतिक्रिया दिए । उनले भौतिक पूर्वाधार विकासका कार्य सँगसँगै शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता विकासका कामको प्रत्याभूति नेपाली जनतालाई हुने गरी काम गरिने बताउँदै व्यवसायलाई बढावा दिने लगानीमैत्री वातावरण सिर्जना, अर्थतन्त्रको सबै क्षेत्रलाई गतिशील बनाएर रोजगारीको अवसर सिर्जना र आर्थिक समृद्धि गर्ने लक्ष्यका साथ सरकार अगाडि बढ्ने स्पष्ट पारेका छन् ।