कञ्चनपुर । कञ्चनपुरमा बन्द अवस्थामा रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका पदाधिकारी र कञ्चनपुरका वर्तमान तथा निवर्तमान जनप्रतिनिधिहरूको एक टोली मझगाउँ विमानस्थलको बिस्तार कार्यका लागि आवश्यक बजेट विनियोजन र त्यहाँ देखिएका बाधा अवरोध हटाउनु पर्ने मागसहित काठमाडौँ पुगेको छ । निवर्तमान सङ्घीय सांसद डा. दीपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशका निवर्तमान राज्य मन्त्री मान बहादुर सुनार, दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बू, वेदकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार चन्द, कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशी, मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्द, दोधाराचाँदनी वडा नम्बर ०२ र ०३ का वडा अध्यक्ष सहितको टोली काठमाडौँ पुगेको हो ।
कञ्चनपुरको मझगाउँ विमानस्थल वि.सं. २०२३।२४ सालतिर स्थापना भई वि.सं. २०५६ सालसम्म सञ्चालनमा रहेको थियो । वि.सं. २०५६ सालमा सुरक्षाको कारण देखाउँदै विमानस्थलमा उडान बन्द भएको थियो । सो विमानस्थल पुनः सञ्चालनका लागि कञ्चनपुर जिल्लाका राजनीतिक दल र सरोकारवाला सङ्घसंस्थाको प्रतिबद्धता अनुसार तीन तहका सरकार मध्ये स्थानीय तह भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत र सङ्घीय सरकारको ५० प्रतिशत सह–लगानीमा बिस्तार भइरहेको छ । तत्कालीन अवस्थामा विमानस्थल बिस्तारका लागि छुट्याइएको जग्गामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र नेपाली सेनाले आफ्नो दाबी गर्दै विमानस्थल निर्माण कार्यमा अवरोध गरेकोले विमानस्थलको निर्माण कार्यमा देखिएको अवरोध हटाई निर्माण कार्य तत्कालै सुचारु गर्नका लागि पहल गरिनु पर्ने माग सहित प्रतिनिधि मण्डलले सम्बन्धित मन्त्री र मन्त्रालयमा छलफल गरेको मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव चन्दले बताउनु भएको छ ।
सत्तारुढ गठबन्धन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूले मझगाउँ विमानस्थल निर्माण कार्य सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई दबाब दिनु भएको छ । मन्त्रालयमा मन्त्रीसँग भेटघाट गरी नेताहरूले सैनिक अवरोधले रोकिएको विमानस्थल निर्माण कार्य तत्काल पुनः सञ्चालनका लागि माग पत्र बुझाउनु भएको हो । उहाँहरूले विमानस्थल निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न पनि मन्त्रीलाई आग्रह गर्नुभएको छ । मन्त्री तामाङले विमानस्थल निर्माण कार्य पुनः सञ्चालनका लागि सहयोग गर्ने आश्वासन दिनु भएको मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले बताउनु भएको छ ।
साथै सुख्खा बन्दरगाह, महाकाली चार लेन पुल, दैजी–छेला औद्योगिक क्षेत्र र महाकाली कोरिडोर लगायतको निर्माण कार्यलाई समेत तीव्रता दिन सम्बन्धित मन्त्री तथा मन्त्रालयको ध्यानाकर्षण गराइएको वेदकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिनुभयो । समितिले यस अघि बैशाख ९ गते कञ्चनपुर पुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई माग पत्र बुझाएर आवश्यक निर्देशनका लागि आग्रह गरेको थियो । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा कञ्चनपुर पुग्नु भएका प्रधानमन्त्री दाहालले पनि निर्माण कार्य सञ्चालनको आश्वासन दिनु भएको थियो । त्यसै गरी पूर्व राज्यमन्त्री मान बहादुर सुनारले प्रधानमन्त्रीसँग भेटेर विमानस्थलको समस्या समाधानका लागि आग्रह गर्ने तयारीमा आफू रहेको बताउनु भयो ।