
मानव मन अति नै विचित्र, शक्तिशाली र रहस्यमय छ । मन भएर नै हामी मानव भएका हौँ । यही मन शान्त, एकाग्र र सृजनशील भयो भने यसले मानव सभ्यता विकासको हरेक क्षेत्रमा चमत्कारिक कामहरू गरेको छ । यही मन विकारग्रस्त र दूषित भयो भने विनाशकारी परिणामहरू निम्त्याउँछ अनि व्यक्ति, परिवार, राष्ट्र र सम्पूर्ण विश्वको अहितसमेत गर्छ । मानव मात्रले अहिलेसम्म आर्जन गरेको विज्ञान, कला, साहित्य, संस्कृति, भौतिक पूर्वाधार निर्माण र सञ्चार क्षेत्रका उपलब्धिहरू मान्छेको यही मनका सिर्जनात्मक चमत्कार हुन् भने आपसी मनमुटाव, झैझगडा, आत्महत्या, बलात्कार, आतङ्ककारी क्रियाकलाप र युद्ध, विश्वयुद्धहरू विकारग्रस्त मनका विनाशकारी परिणामहरू हुन् ।मान्छेको मनको यो विकारग्रस्त स्वभावलाई विकारमुक्त वा निर्मलीकरण गरी दुःख निवारण गर्ने ध्यान साधनाका अनेक विधि र उपायहरू वैदिक-उपनिषद्, रामायण र महाभारत काल, मध्य युग र वर्तमान युगमा समेत अनेक ऋषि-मुनीहरूले बताउँदै आएका छन् । विपश्यना पनि अनेक ध्यान विधिमध्ये एउटा ध्यान विधि हो, जुन वैदिक युग पूर्व नै भगवान् शिव र प्रागऋषिहरूले खोजेका थिए । समयको प्रवाहसँगै यो विद्या उचित पात्रमा हस्तान्तरण र प्रसार नहुँदा महाभारत युगपछि लुप्त प्रायः नै भयो ।

लगभग २५०० वर्ष पूर्व भगवान् गौतम बुद्धले संसारबाट विलुप्त भइसकेको यस पद्धतिलाई पुनः अनुसन्धान खोज गरी यसलाई सार्वजनिक रोगको सार्वजनिक उपचार रूपमा सर्वसुलभ बनाए । यस सार्वजनिक साधना-विधिको उद्देश्य चित्तमा विद्यमान सम्पूर्ण विकारहरूको निर्मूलन गरी परम विमुक्तिको अवस्थालाई प्राप्त गर्नु हो। यस साधनाको उद्देश्य केवल शारीरिक तथा मानसिक रोगहरूलाई निको पार्ने मात्र नभई जीवनको सबै प्रकारको दुःखहरूबाट मुक्त हुनु हो। तसर्थ यो जीवन जिउने उत्तम कला हो । विपश्यना आत्म-निरीक्षण द्वारा गरिने आत्म शुद्धिको साधना हो । यस विधिमा आफ्नै शरीर र चित्त धारामा पल-पल भइरहने प्रत्येक परिवर्तनशील घटनाहरूलाई तटस्थ भावबाट निरीक्षण गरी भौतिक एवं चैतसिक धर्महरू (physical and psychic phenomena) को यथार्थ स्वभावको बोध गर्न प्रयत्न गरिन्छ । यथार्थ ज्ञान (प्रज्ञा) का आधारमा विद्यमान राग द्वेषादि क्लेश (विकार)हरू क्रमशः हटाउने, नयाँ क्लेश थप्न नदिने चित्त विशोधनको अभ्यास गरी मुक्त अवस्था सम्म पुग्न साधक प्रयत्नरत रहन्छ । यस यात्रामा साधकले मन (नाम धर्म) तथा भौतिक शरीर (रूप धर्म) का विविध पक्षहरूको प्राकृतिक नियमहरूका बारे स्पष्ट ज्ञान बोध गर्दछ ।
आफ्नो प्रत्यक्ष अनुभवबाट विकार कसरी बन्छ ?, संसारको बन्धनमा प्राणीहरू कसरी बाँधिन्छन् ? र यस बन्धनबाट कसरी छुटकारा पाउन सक्छ ? भन्ने बारे ज्ञानको प्राप्त हुन्छ । निर्वाण साक्षात्कार गर्नु यसको परम उद्देश्य हो भने यसको अभ्यासको क्रममा साधकले परम निर्वाण नै प्राप्त नभएता पनि प्राप्त ज्ञानको स्तर अनुसारको सुख शान्ति प्रतिको अनुभव गर्दछ । यसले व्यक्ति एवं समग्र समाजमा शान्ति र सामञ्जस्य कायम गर्नमा मद्दत पुग्दछ। मनमा उठ्ने दुःख, सुखका हरेक तरङ्गहरूलाई समभावले हेरी साक्षीभाव संवर्द्धन गर्दै हरेक परिस्थितिमा मनलाई शान्त-सुखमय बनाउने यो कल्याणकारी विद्या नै सर्वोत्कृष्ट मानिन्छ । भगवान् बुद्धको समय देखि यस ध्यान-विधिले गुरु शिष्य परम्परा मार्फत अक्षुण्ण रूपमा निरन्तरता पाइरहेको छ । थेरवादी परम्परा अन्तर्गत हाल नेपालमा पनि आचार्य सत्य नारायण गोयन्काको परम्परा प्रचलित छ। पुण्य कर्म, शिक्षा, विचार केही समय लुप्त भए पनि हराएर जाँदैन ।
बर्मामा जन्मिएका भारतीय मूलका सत्यनारायण गोयन्काले बर्माका बौद्ध गुरु स्यागयी ऊ बा किनबाट विपश्यना ध्यान विधि सिक्नु भएको थियो र वहाँले नै भारतमा यो शिक्षालाई ल्याएर जनस्तरमा पुर्याउने काम गर्नु भयो । आज यो अनमोल शिक्षा विश्वव्यापी रूपमा फैलिएको छ । गोयन्का व्यापारी पृष्ठभूमिका मानिस हुनुहुन्थ्यो । वहाँको व्यापार बर्मादेखि जापान, सिंगापुर, भारत लगायतका विभिन्न देशहरूमा फैलिएको थियो । बर्मामा हिन्दु परिवारमा जन्मेर हिन्दु सङ्घको अध्यक्ष समेत रहनु भएका गोयन्कालाई धर्मशास्त्र, नीति शास्त्रको निकै राम्रो ज्ञान हुनुका साथै संस्कृत, पाली, हिन्दी, अङ्ग्रेजी लगायतका विभिन्न भाषाको राम्रो अध्ययन गर्नु भएको थियो । वहाँ अचानक एक प्रकारको टाउको दुख्ने रोग (माइग्रेन) को सिकार हुनु भयो । एसिया र युरोपका विभिन्न अस्पतालहरूमा उपचार गर्दा पनि ठिक भएन । डाक्टरको सल्लाहमा अफिम जस्तै एक प्रकारको औषधी मर्फिन नियमित रूपमा खानु पर्ने भयो । यसै बिच वहाँको एक जना साथीको सल्लाहमा वहाँले स्यागयी ऊ बा किनबाट विपश्यना ध्यान विधि सिक्नु भएको थियो । ध्यान पछि क्रमशः वहाँको रोग निको हुँदै गयो । जसले गर्दा गोयन्कालाई भगवान् बुद्धका ज्ञान र सन्देशहरूमा रुचि बढ्दै गयो ।
गोयन्काले गुरु स्यागयी ऊ बा किनबाट विपश्यना ध्यान विधि १४ वर्ष सम्म सिक्नु भयो र आफै विपश्यना गुरु बनेर कक्षा सञ्चालन गर्न थाल्नु भयो । गुरु स्यागयीको निधन पछि बर्मामा रहेको आफ्नो व्यापार, व्यवसाय सबै छाडेर वहाँ भारत फर्कनु भयो र भारतबाट लुप्त भएको त्यो अलौकिक साधनालाई फिर्ता ल्याएर ध्यान केन्द्रहरू खोलेर विश्वव्यापी बनाउनु भयो । हजारौँ सहायक गुरुहरू तयार पार्नु भयो भने लाखौँलाई यो साधना गराउनु भयो । आज ९४ देशका ३८० भन्दा बढी केन्द्रहरूमा यो साधना सिकाइन्छ । यो साधनालाई एसियामा भन्दा पनि पश्चिमा देशहरूका साधकहरूले धेरै रुचाएको पाइन्छ । विपश्यना ध्यान कम्तीमा १० दिनको हुन्छ तर पनि ध्यान केन्द्र जाने र छाड्ने दिनमा पनि केही समय ध्यान गराइने हुँदा विपश्यना ध्यान पुरा गर्न १२ दिन लाग्दछ । ध्यान गर्न जाने सहभागीमा दृढ सङ्कल्प चाहिन्छ । ध्यान अवधिभर आर्य मौनको पालना गर्नु पर्दछ । घर परिवार, आफन्त, साथीभाइ, अफिस, कार्यस्थल सबैतिरको सम्पर्क विहीन भएर ध्यान केन्द्रमा नै रहनु पर्दछ ।
मोबाइल फोन, टेलिभिजन, रेडियो लगायतका सबै खाले सञ्चारका माध्यम, इन्टरनेट लगायतबाट टाढा रहनुका साथै लेख्ने, पढ्ने समेत गर्न पाइँदैन । ध्यान शिविरमा नै रहेका सहभागीहरूसँग कुनै पनि किसिमको संवाद, हाउभाउ गर्न पाइँदैन । तर ध्यान सिकाउने सहायक आचार्यसँग र धर्म सेवकहरूसँग अत्यावश्यक विषयमा एकदम छोटो संवाद गर्न सकिन्छ । साधकहरूले बिहान ४ बजे उठेपछि राती ९ बजे सम्म अति नै व्यस्त रहेर कठिन साधना गर्नु पर्ने हुन्छ । ध्यान केन्द्रले नयाँ साधकहरूलाई दिनको ३ पटक र पुराना साधकहरूलाई २ पटक स्वच्छ, सुद्ध, शाकाहारी खाना प्रदान गर्ने व्यवस्था मिलाएको हुन्छ । हाम्रो मन चञ्चल छ । यो चञ्चल मन कि त भूतकालका यादहरूमा भाग्दछ अथवा भविष्यको कल्पना तिर । त्यसैले मनमा तनाव छ, बेचैनी छ, अशान्ति छ, व्याकुलता छ । मनमा बारम्बार बितेका हुन् वा भविष्यका, दुःखका हुन् वा सुखका, राम्रा हुन् वा नराम्रा, कल्पना र सपनाका कुराहरू के के आउँछन् के के । हामीसँग सम्पत्ति छ, साधन छ तर पनि दुःखी हुन्छौँ । यो मनलाई शान्त र एकाग्र बनाउन धेरै कठिन हुन्छ ।
मनको यो रोगको कारण थाहा पायौँ भने यसलाई अवश्य हटाउन सकिन्छ । रोगको कारण पनि मनको विकार हो । मनका विकारहरूबाट मुक्त हुन सकेमा, शुद्ध भएमा, निर्मल भएमा दुःख, अशान्ति, बेचैनी रहँदैन । चित्त निर्मल भए पछि कसै प्रति ईर्ष्या वा द्वेष उठ्दैन । निर्मल चित्त अरूप्रतिको मायाले, करुणाले, मुदिताले, समताले भरिएर आउँछ । त्यही नै कल्याणको मार्ग हो, जुन विपश्यना साधनाबाट सम्भव छ । विश्व विपश्यनाचार्य श्री सत्यनारायण गोयन्काको अडियो, भिडियो निर्देशनमा १० दिने साधना शिविरहरू सञ्चालन हुने केन्द्रहरू नेपालका इलाम, इटहरी, चितवन, बुढानीलकण्ठ, कीर्तिपुर, पोखरा र सुर्खेतमा छन् । यसमध्ये बुढानीलकण्ठ काठमाडौँमा २०, ३० र ४० दिने लामा शिविरहरू पनि सञ्चालन हुन्छन् ।
विपश्यनाबाट हुने लाभ ।।
विपश्यना साधनाबाट मनमा भएका विकारहरू तृष्णा, अहङ्कार, आशक्ति, कामना अतृप्त हुँदा उब्जिने द्वेष तथा क्रोध र कामना पूरा हुँदा उब्जिने रागलाई सबै अनित्य र क्षणभङ्गुर छ भन्ने सम भाव अनुभव पुष्ट हुँदै गएपछि साधकले आफूलाई हलुको र प्रफुल्ल भएको अनुभव गर्छ । नयाँ नयाँ विकारहरू नबनाउँदा अचेतनमा दबेर बसेका पुराना विकारहरू सतहमा आउन थाल्छन् र त्यसलाई पनि समभावले निरीक्षण गर्दै गएमा त्यो निर्जरा हुन थाल्छ । चित्त निर्मल-र्निविकार हुँदै गएपछि साधकमा मैत्री र समता जस्तो सद्गुणको विकास हुन्छ । विपश्यना साधनाले वस्तुस्थितिको सामना गर्न सिकाउँछ । विपश्यना ध्यान जीवनमा कमसेकम एक पटक गर्नै पर्ने साधना हो । यो साधना त आत्मा दर्शनको, स्व–दर्शनको साधना हो । जति नै व्यस्त भए पनि, गहन जिम्मेवारी भए पनि १२ दिन छुट्टाएर विपश्यना ध्यानमा जाँदा जे कुरा पाउन सकिन्छ त्यो कुनै प्रवचन सुनेर, शैक्षिक डिग्री वा तालिम लिएर, किताब पढेर वा अन्य कुनै कुराबाट प्राप्त गर्न सक्दैन । यो साधनामा कुनै पनि किसिमको अन्धविश्वास वा कल्पनाको कुरा गरिँदैन । यो त बोधिको मार्ग हो, सत्यको मार्ग हो, ज्ञानको मार्ग हो, आफै तप्ने र मनलाई निर्मल बनाउने पुरुषार्थको मार्ग हो । जीवन जिउने मार्ग हो ।