हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ भदौ । कञ्चनपुरको बेलौरी बजारमा रहेका दुई वटा लघुवित्तमा लुटपाट भएको घटनामा पक्राउ परेका १८ जना मध्ये १० जना छुटेका छन् भने ८ जनाको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । बिहीबार दिउँसो बेलौरी स्थित इन्फिनिटी लघुवित्त र एनआइसी एसिया लघुवित्त संस्थाको कार्यालयमा एक समूह मुखमा पट्टी बाँधेर प्रवेश गरी त्यहाँ लुटपाट गरेको थियो । उक्त समूहले कार्यालयका सरसामान तोडफोड गर्नुका साथै रेकर्ड फाइलहरू लुटेर लगेको बताइएको छ ।
घटनाको केही समयमा सुरक्षाकर्मी सहितको टोली परिचालन भएपछि बिहीबार नै उनीहरूलाई विभिन्न क्षेत्रमा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । पक्राउ परेका १८ जनामध्ये १० जना छुटेका छन् भने ८ जनामाथि म्याद थप गरेर अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिनुभयो । दिउँसै गुण्डागर्दी शैलीमा कार्यालयमा प्रवेश गरी तोडफोड तथा लुटपाट गर्ने उक्त गिरोहमाथि कानुन बमोजिम कडा सजाय हुनुपर्ने लघुवित्त संस्थाहरूको माग रहेको छ ।
लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका अभियुक्तहरूको नामावली :
१) जिल्ला कञ्चनपुर बेलौरी न पा ०६ बस्ने बुझौना चौधरी
२) जिल्ला कञ्चनपुर बेलौरी न पा ०८ बस्ने नन्दकली राना
३) जिल्ला कञ्चनपुर बेलौरी न पा ०८ बस्ने कैलाशो राना
४) जिल्ला कञ्चनपुर बेलौरी न पा ०७ बस्ने गीता डगौरा
५) जिल्ला कञ्चनपुर बेलौरी न पा ०४ बस्ने चन्द्रा देवी भण्डारी
६) जिल्ला कञ्चनपुर कृष्णपुर न पा ०४ बस्ने गीता राना
७) जिल्ला कञ्चनपुर लालझाडी गा पा ०४ बस्ने रामबाबु राना
८) जिल्ला कञ्चनपुर बेलडाँडी गा पा ०२ बस्ने अमर नेपाली (दमाई)