हरितालिका तीज नेपालका हिन्दु धर्म मान्ने नारीहरूको विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा-आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउँछन् । गणेश चतुर्थी र ऋषि पञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइन्छ । हामीले मनाउने कुनै पनि सांस्कृतिक पर्व हाम्रा वैदिक तथा पौराणिक प्रसङ्गसँग सम्बन्धित भएर परम्परित रूपमा चल्दै आएका छन् ।
तृतीया तिथिको दिनमा दिनभर भोकै निराहार र निर्जला व्रत बसिने भएकाले द्वितीया तिथिको राति दर खाने चलन छ । महिलाहरूले भोलिपल्ट तृतीयाको दिनमा जलाशयमा स्नान गरी पवित्र भई शुद्ध मनले निराहार व्रत बस्छन् । तीजको दिनमा पानीसम्म नपिई निराहार र निर्जला व्रत बस्नाले भगवान् शिव खुसी हुने र परिवारमा सुख समृद्धि छाउने जनविश्वास छ । यस दिन विवाहित तथा अविवाहित महिलाहरू शिव मन्दिर अथवा ठुलो चौरमा भेला भएर दिनभरि नाचगान गर्छन् । यस दिन महिलाहरू राता लुगा र गहनामा सजिएका हुन्छन् । कन्याहरू पनि व्रत र नाचगानमा सरिक हुन्छन् । दिनभरि निराहार व्रत बसेका महिलाहरू साँझ भगवान् शिवको पूजा गरेर कन्यालाई टीका लगाई दक्षिणा दिएर फलाहार गर्छन् ।
विकृति बन्दै दर खाने संस्कृति
भोलिपल्टको निर्जला व्रतको पूर्व सन्ध्यामा शास्त्र र संस्कृतिद्वारा निर्देशित केही पोषणयुक्त भोजन गरेर भोलिपल्टको व्रतको तयारीका लागि मध्यरातमा खाने परिकार नै दर हो । यो हिन्दु संस्कृतिमा तीजको अघिल्लो दिन मात्रै खाइन्छ । दर एउटा भोजन मात्रै होइन, यो संस्कृति र मान्छेको मानसिकतासँग जोडिएको विषय पनि हो । तीजको दिन महादेवको व्रत बस्दा भोको पेट भयो भने स्वाभाविक रूपमा उसको ध्यान भोजनतिर जाने भएकोले त्यही ध्यान भङ्ग गराउनको लागि अघिल्लै दिन खाने पौष्टिकताले भरिपूर्ण भोजन नै दर हो । घरका महिला हुन् या पुरुष, सबै मिलेर दर खाँदा त्यहाँ एउटा उत्सव हुन्छ । त्यसैले यो पनि एक किसिमको पर्व मानिन्छ । ’पछिल्ला वर्षहरूमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रूपमा लैजान खोजेको देखिन्छ । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीहरुले समेत जोड दिएका छन् । तर पछिल्ला वर्षहरूमा सहरिया जमात बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका ह्विस्कीका बोतल फोरेर आधुनिक बन्नु एकातर्फ छ भने पतिव्रतका नाममा पानी समेत नखानुलाई तीज (दर खानु) मान्ने प्रचलन अर्कोतर्फ रहिआएको छ ।
आधुनिक तीज कार्यक्रमहरूको अवधि प्रतिवर्ष लम्बिँदै छ भने अनावश्यक रूपले खर्चिलो समेत बनिरहेको छ। तीजको प्रमुख पक्ष गौण बन्दै अन्य पक्षले प्रमुख स्थान पाउँदै गइरहेको देख्दा यो पर्व नै विकृत हुने हो कि भन्ने आशङ्का बढ्नु स्वाभाविक नै हो ।
गणेश चौथी
तीजको भोलिपल्ट भाद्र शुक्ल चतुर्थीको दिन पर्ने गणेश चौथी विश्वभरिका हिन्दु धर्मावलम्बीले शिव पुत्र भगवान् गणेशको आराधना गरी मनाउने गर्छन् । यस दिन नेपालको कार्यविनायक, सूर्यविनायक, कमलविनायक आदि गणेशका मन्दिरहरूमा भगवान्को आराधना गर्न भक्तजनहरूको भीड लाग्ने गर्छ । कतैकतै यस दिनदेखि अनन्त चतुर्दशीसम्म दश दिन गणेशोत्सव मनाउने चलन पनि रहेको पाइन्छ । नेवार समुदायमा पनि यो पर्व चथाःको नामले प्रसिद्ध छ । स्कन्द पुराणअनुसार यस दिन भगवान् गणेशको जन्म भएको थियो । हिन्दु धर्मावलम्बीहरूले यस दिन आफ्नो जीवनमा कुनै विघ्न नआओस्, र आफूले आँटेको कार्य सिद्ध होस् भनी गणेशको पूजा गर्ने गर्छन् ।
ऋषि पञ्चमी
तीजको पर्सिपल्ट अर्थात् पञ्चमीको दिन महिलाहरूले रजस्वलाको समयमा भएका त्रुटि तथा दोषको निवारण गर्न ऋषिहरूको पूजा गर्छन् । ऋषि पञ्चमीको दिनमा अरुन्धती सहित सप्तर्षि (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वसिष्ठ)को पूजा गर्नाले रजस्वलाको समयमा भएका त्रुटिहरू नष्ट हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यस दिन महिलाहरू नजिकैको नदी तथा पोखरीमा गई ३६५ दतिउनले दन्त मञ्जन गर्दछन्, शरीरमा गाईको गोबर र माटो लगाएर स्नान गर्छन् । स्नान गर्दा ३६५ पटक नै नुहाइन्छ । त्यसको लागि गनौती अर्थात् गनिएका जौ, तिल र चामल चाल्नीमा राखेर माथिबाट पानी खन्याई नुहाउने चलन छ । नुहाइसकेपछि महिलाहरू पवित्र भएर ऋषि पूजा गर्छन् ।
धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको तीज पर्वले पुरुष प्रधान देश नेपालमा घरभित्र मात्रै खुम्चिएर बस्ने महिलाहरूलाई बाहिर निस्कन प्रेरित गर्ने र आफ्ना पिर मर्का अरू समक्ष राख्ने मौका दिने भएकाले यसको सामाजिक महत्त्व पनि त्यत्तिकै रहेको छ तर अहिलेको समयमा उच्छृङ्खल र भड्किला गीत गाउने, शृङ्गारको नाममा गहनाको प्रदर्शन गरी समाजमा प्रतिष्ठित बन्न खोज्ने, नाचको निहुँमा अङ्ग प्रदर्शन गर्ने जस्ता विकृतिहरू तीजको समयमा व्यापक भएको देख्न सकिन्छ ।यस्ता विकृतिले हाम्रा संस्कार र संस्कृतिका मूल्य-मान्यतालाई घटाउँदै गएको र समाजलाई दूषित बनाउँदै गएको हुनाले यस्ता विकृतिलाई हटाई हाम्रा रीति-रिवाज, पर्व, संस्कार र संस्कृतिलाई स्वच्छ तुल्याउनु जरुरी देखिन्छ। धार्मिक, सामाजिक तथा वैज्ञानिक महत्त्व भएका यी पर्वहरूको रहस्य सबैले बुझेर सभ्य तथा समुचित ढङ्गले यिनको पालना गर्नु हामी सबैको कर्तव्य हो ।
अन्तमा सम्पूर्ण हिन्दु धर्मावलम्बी महिला दिदी-बहिनीहरूमा हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछु । हजुरहरूको सम्पूर्ण मनोकामना पूर्ण होस् !!