हरिश्चन्द्र बाग, कञ्चनपुर, ११ मङ्सिर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धनका उद्देश्यसहित बुधबार सम्पन्न कार्यक्रममा युवा, बालिका तथा अपाङ्गता क्षेत्रका स्वयंसेवी अग्रदूत चयनसँगै पालिका स्तरीय युवा समूह गठन गरिएको छ । आदिवासी जनजाति संघ लालझाडीको आयोजनामा भएको उक्त कार्यक्रमको सहजीकरण समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्गतका शिक्षा अधिकृत ऋषिकेश जैरुले गर्नुभयो ।

विभिन्न वडाबाट सिफारिस भएर आएका युवा, बालिका र अपाङ्गता भएका व्यक्तिमध्ये छनोट गरी तीन विधाका स्वयंसेवी अग्रदूत चयन गरिएको आयोजक आदिवासी जनजाति संघ लालझाडीकी अध्यक्ष गोमती रानाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाका सबै वडामा स्वयंसेवी अग्रदूत परिचालन भएपछि बालिका शिक्षा, अपाङ्गता अधिकार र समावेशी नीतिको प्रभावकारी कार्यान्वयनमा समुदाय स्तरमै ठोस सुधार हुने अपेक्षा गरिएको छ । उहाँले वडा स्तरीय सिफारिस, सहभागिता र समन्वयका सबै प्रक्रियाहरू गाउँपालिकाको महिला तथा बालबालिका शाखामार्फत अगाडि बढाइने पनि जानकारी गराउनुभयो ।

नेतृत्व, वकालत र समन्वय क्षमता भएका १३ देखि १८ उमेर समूहका बालिकाहरूमध्येबाट बालिका अग्रदूत चयन गरिएको छ । बालिका अग्रदूतमा गरिष्मा राना, सुशिकान्त तिरुवा, ज्योती चौधरी, हिमन्ती विक र कविता महर चयन हुनुभएको छ । त्यस्तै अपाङ्गता अधिकार, पैरवी र समन्वयमा क्षमता राख्ने व्यक्तिहरूमध्येबाट अपाङ्गता अग्रदूत चयन गरिएको छ । जसमा प्रकाश थारु , दिनेश राना, जीतबहादुर राना, मुकेश राना र महेश खत्री चयन हुनुभयो ।

त्यसै गरी समावेशी शिक्षासम्बन्धी नीतिगत अवस्था अध्ययन, अनुगमन तथा प्रतिवेदन दिन सक्षम स्नातक तहका युवाहरूबाट पालिका स्तरीय युवा समूह गठन गरिएको छ । जसको अध्यक्षमा जीतबहादुर थापा, उपाध्यक्षमा सम्झना राना, कोषाध्यक्षमा सुनिता चौधरी, सचिवमा दीपेश राना, सहसचिवमा निर्मल प्रसाद चौधरी तथा सदस्यहरूमा प्रदीप चौधरी, निशान्त राना, प्रदीप राना र सन्देश राना चयन हुनु भएको छ ।

लालझाडी गाउँपालिकाको सभा कक्षमा आयोजित उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, शिक्षा शाखाका प्रतिनिधि, आदिवासी जनजाति संघका पदाधिकारी, एनएनएसडब्ल्युए अन्तर्गतको परियोजनाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।