हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ असोज । बडादशैँ तथा नवरात्रको नवौँ दिन आज नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना भइरहेको छ । वैदिक सनातनी परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको पूजाआराधना गरिन्छ । तर यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवौँ दिन देवी महागौरीको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
किंवदन्तीअनुसार महागौरी देवीको रंग पहिला कालो थियो । भगवान् शिवले ख्यालठट्टामा ‘ए काली’ भनेपछि देवीलाई मन नपरी उहाँले कठोर तपस्या गर्नुभयो र त्यसपछि गोरो वर्ण प्राप्त गरी ‘महागौरी’ नाम रहन गएको उल्लेख विभिन्न पुराणमा पाइन्छ । महागौरीलाई सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरूपमा शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ ।
यसअघि नवरात्रको पहिलो दिन घटस्थापनासँगै शैलपुत्री देवी, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्रि देवीको पूजाआराधना गरिएको थियो । आज महागौरीको पूजापछि भोली दशमीका दिन सिद्धिदात्री देवीको पूजाआराधना गर्ने धार्मिक परम्परा छ ।
नवरात्रका अवसरमा दसैँघर वा पूजाकोठामा नौ दिनसम्म दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत स्तोत्र पाठसमेत गरिन्छ । देवीको आराधना गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको भीड बढ्ने यो पर्वमा विशेषगरी फूलपातीदेखि नै बडादशैँको रौनक सुरु हुन्छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म नवरात्रमा गरिएको पूजाको प्रसाद लगाइन्छ र यसरी नेपालीले १५ दिनसम्म बडादशैँ पर्व धूमधामसहित मनाउने परम्परा छ ।