हरिश्चन्द्र बाग, कञ्चनपुर, १३ असोज । बडादशैँ अर्थात् नवरात्रको आठौँ दिन आज देशभर नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवरात्र दशरात्र बनेको छ र कालरात्रि पूजाको तिथि आठौँ दिनमा परेको हो ।
कालरात्रि देवीको आराधना
धार्मिक विश्वासअनुसार प्राणीलाई नष्ट गर्ने काललाई समेत भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । कृष्णवर्ण र भयङ्कर आकृतिमा वर्णन गरिएकी कालरात्रि देवीलाई पूजा आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास रहिआएको छ ।
नवरात्रको क्रम
यस वर्षको नवरात्र असोज ६ गते घटस्थापनासँगै सुरु भएको हो । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथी र पाँचौँ दिन कुष्माण्डा, छैटौँ दिन स्कन्दमाता र सातौँ दिन कात्यायनी देवीको पूजा सम्पन्न भइसकेको छ । आज कालरात्रि पूजापछि मङ्गलबार महागौरी र बुधबार सिद्धिदात्री देवीको आराधना गरिनेछ ।
फूलपाती पर्व आजै
यसै अवसरमा आज फूलपाती पर्व पनि घरघरमा मनाइँदै छ । घटस्थापनादेखि आह्वान गरिएकी देवी दुर्गालाई शक्तिपूर्वक आराधना गर्ने उद्देश्यले उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने परम्परा छ । यी सामग्रीलाई सामूहिक रूपमा नवपत्रिका भनिन्छ, जसलाई देवीका पार्षद् स्वरूप पूजा गरिन्छ ।
दशैँको रौनक बढ्दै
फूलपाती पर्वसँगै दशैँको धार्मिक तथा सामाजिक चहलपहल झन् बढ्ने गर्छ । आजैदेखि धेरै सार्वजनिक तथा निजी कार्यालयमा पनि बिदा दिइएको छ । नवरात्रमा गरिएको पूजा आराधनाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइने परम्परा रहेको छ । यसरी १५ दिनसम्म नेपालीहरूले बडादशैँ पर्व मनाउने गर्छन् ।