सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला बेलौरी नगरपालिकास्थित नयाँ– नमुना शहर (New Model City) निर्माणको राष्ट्रिय सूचिमा सूचीकृत “बेलौरी बजार” देखि इलाका प्रहरी कार्यालय प्रेमनगर भुराकोट बैशाखा बेलौरी भन्सार हुँदै नेपाल भारत सिमानामा भारत तर्फको खजुरीया–पुरनपुर सवहाईवेमा मिलान हुने लम्बाई ४ कि.मि. र चौडाइ ३० मि. भएको भन्सार रोड सकसमा छ र उद्धारको पर्खाइमा छ ।
यस क्षेत्रको जीवनरेखा मानिएको, बेलौरी भन्सार स्तरोन्नतिका लागि अपरिहार्य मानिएको वाणिज्य व्यापार (आन्तरिक र बाह्य, पर्यटन प्रवर्द्धन, यातायात व्यवस्थापन सुरक्षा एवं राष्ट्रिय प्रतिष्ठाका लागि समेत अति आवश्यक मानिएको बहु आयामिक महत्वको भन्सार रोड अलपत्र पर्नुले यस क्षेत्रको प्रगति र समृद्धि अन्योलमा परेको छ ।
सडकको दुवैतर्फ बसोबास गरेकाहरूको दैनिकी कष्टकर बनेको छ । ३० मिटर चौडाइ सीमित क्षेत्रमा मात्र ५ मिटर पक्की बनेको सडक निर्माणमा सडक क्षेत्र भित्रैबाट माटो खनी माटो पटान गर्दा दुवै तर्फ ठुलठुला खाल्डा बनेका छन् । सडक निर्माणको जिम्मेवारी पाएको सरोकारवाला निकायले लामो समयसम्म रेखदेख र संरक्षण नगरेकाले ठाउँठाउँमा झाडी फैलिएर सडक छेउका घर, कार्यालय, विद्यालय र मन्दिरसम्म पुग्न कष्टकर बनेको छ ।
स्थितिको गम्भीरतालाई ध्यानमा राखी सरोकारवाला सबै वर्ग र समुदायका जनता, जनप्रतिनिधि, राजनैतिक दलका नेता, कार्यकर्ता, उद्योगी, व्यापारी, किसान, मजदुर, बुद्धिजीवी, समाजसेवी, पत्रकार, संघसंस्था खास गरी स्थानीय सरकार “बेलौरी नगरपालिका”, बजार व्यवस्थापन एवं शहरी विकासको नेतृत्वदायी संस्था “बेलौरी नगर विकास समिति”, उद्योगी व्यापारी वर्गको प्रतिनिधिमूलक संस्था “बेलौरी उद्योग वाणिज्य संघ” ले वर्षौँ पहिले बेलौरी नगरपालिकाले लाखौँ रुपैयाँ लगानी गरेर आधुनिक मापदण्ड सहितको चार लेन सडक निर्माण कार्यमा झण्डै ६२ करोड रुपैयाँ अनुमानित लागत भएको डी.पि.आर. (विस्तृत परियोजना प्रतिवेदन) तयार गरेकै आधारमा उक्त सडक निर्माण कार्यलाई आपसी संवाद, सहकार्य र समन्वय गरेर विशेष अभियानका रूपमा उच्च प्राथमिकता दिई तत्परता, इमानदारिता, लगनशीलता र समर्पणका साथ यथाशीघ्र अगाडी बढाउनको विकल्प देखिँदैन ।