हरिश्चन्द्र बाग / धर्मराज कठायत, कञ्चनपुर, १२ कार्तिक । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । निड्स नेपाल र अक्सफाम नेपालको साझेदारीमा सञ्चालित विपद् पूर्व तयारी द्रुत प्रतिकार्य तथा पुनर्लाभका लागि समुदायको सबलीकरण (स्कोप आर थ्री) दोस्रो चरणको परियोजनाले सोमबार उक्त कार्यक्रम गरेको हो । हरेक वर्ष अक्टोबर १३ तारिखमा मनाइने अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस यस वर्ष दशैँको बिचमा परेकोले उक्त अवधिमा गर्ने तयारी गरिएको अन्तरक्रिया कार्यक्रमलाई दुई सातापछि सारेर सोमबार आयोजना गरिएको हो ।
विपद् जोखिम न्यूनीकरण सम्बन्धी जनचेतना प्रवाह गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको परियोजनाका लघु उद्यम तथा जीविकोपार्जन अधिकृत दिव्य देव पण्डितले जानकारी दिनुभयो । यसले समुदाय, सरोकारवाला निकाय र गैरसरकारी संस्थालाई विपद्को प्रभावलाई कम गर्न, पूर्वतयारी सुधार गर्न र प्राकृतिक प्रकोपबाट उत्थानशीलता बढाउनका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ । यसका साथै दिगो विकास, विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका अभ्यासहरूको महत्वलाई समेत जोड दिन्छ । यसले कमजोर पक्षहरूलाई कम गर्न तथा जीवन र जीविकोपार्जनको सुरक्षा गर्न मद्दत गर्ने दाबी गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा दोधाराचाँदनी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष ओम प्रकाश रोकाया, दोधाराचाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विक, दोधाराचाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगर स्थित सुन्दर प्रकृति सामुदायिक विपद् व्यवस्थापन समिति तथा कार्यदलका पदाधिकारी एवम् सदस्य, समुदायका अन्य व्यक्तिहरू लगायतको सहभागिता रहेको थियो । आगामी दिनहरूमा के कस्ता रणनीति अपनाउने भन्ने विषयमा समेत सहभागीहरूसँग अन्तरक्रिया गरिएको छ । उक्त अन्तरक्रियाबाट सहभागीहरूले विपद् पूर्वतयारी, विपद्को समयमा अपनाउनु पर्ने सावधानी र विपद् पश्चात्का प्रतिकार्यहरू बारे जानकारी प्राप्त गरेको बताउनु भएको छ ।
सशक्तीकरण र उत्थानशीलता सम्बन्धी जनचेतना, समूह कार्य अन्तर्गत समुदायमा सम्भावित विपद् जोखिम र त्यसको न्यूनीकरण गर्ने प्रक्रियाहरू बारे समूह छलफल तथा प्रस्तुतीकरण तथा प्यानल अन्तरक्रिया गरिएको थियो । स्कोप आर थ्री परियोजनाले विपद् पूर्व तयारी, द्रुत प्रतिकार्य तथा पुनर्लाभका लागि समुदायको सबलीकरण, क्षमता अभिवृद्धि तथा विभिन्न जीवनोपयोगी सहायता सामग्री प्रदान गर्दै आइरहेको छ । कञ्चनपुरका भीमदत्त नगरपालिका, दोधाराचाँदनी नगरपालिका र बेलडाँडी गाउँपालिका तथा डडेलधुराको परशुराम नगरपालिकाका गरी जम्मा २२ वटा वडाहरूका ४० वटा समुदायहरूमा विगत चार वर्षदेखि यो परियोजनाले कार्य गर्दै आइरहेको छ ।