कञ्चनपुर, १० असार । फरार अभियुक्तहरूलाई पक्राउ गर्न सुराकीका आधारमा गरिएको विशेष अपरेशन अन्तर्गत कञ्चनपुर प्रहरीले तीन जना कैदीलाई पक्राउ गरेको छ । ती अभियुक्तहरू अदालतबाट सजाय तोकिएपछिको लामो समयसम्म फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागू औषध (खैरो हेरोइन) सम्बन्धी मुद्दामा एक वर्ष कैद सजाय पाएका कैलाली, धनगढी उपमहानगरपालिका–१ क्याम्पस चोक निवासी ३१ वर्षीय विवेक बराललाई असार ९ गते आफ्नै घरबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत कञ्चनपुरले २०८० मङ्सिर ४ गते एक वर्ष कैद सजाय सुनाएको थियो ।
त्यस्तै गरी, नकबजनी चोरी मुद्दामा दोषी ठहरिई एक महिना १५ दिन कैद तथा रु. ९,९५५ जरिवाना तोकिएका कञ्चनपुर, वेदकोट नगरपालिका–७ निवासी ३७ वर्षीय मंगरु डगौरा पनि पक्राउ परेका छन् । उनलाई २०७२ भदौ ८ गते अदालतले सजाय तोकेको थियो ।
यसै गरी, आगलागी र गौवध सम्बन्धी मुद्दामा १६ वर्ष कैद सजाय सुनाइएका कैलाली, घोडाघोडी नगरपालिका–५ निवासी ३१ वर्षीय दिनेश धामीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला अदालत कञ्चनपुरले २०७२ चैत २१ गते दोषी ठहर गरेको थियो ।
तीनै जना फरार अभियुक्तहरूलाई उनी–उनीहरूको स्थायी ठेगानाबाट समातिएको प्रहरीले जनाएको छ । उनीहरूलाई अब सजायअनुसार कारावासमा राखिनेछ ।
प्रहरीले अदालतको फैसला कार्यान्वयनको सिलसिलामा फरार अभियुक्तहरूलाई खोजी गरी पक्राउ गर्ने अभियानलाई तीव्र बनाएको जनाएको छ ।