हरिश्चन्द्र बाग, कञ्चनपुर, १२ असार । भारतको उत्तराखण्डस्थित रुद्रपुर र काशीपुर क्षेत्रमा बन्धक बनाइएका ५७ जना नेपाली नागरिकलाई ‘किन इन्डिया’ संस्थाको पहलमा गड्डाचौकी नाका हुँदै स्वदेश फर्काइएको छ । नेपाल फर्कनासाथ गड्डाचौकी नाकामा ओर्लिएका पीडितहरूले उद्धारकर्ताप्रति आभार प्रकट गर्दै आफूहरूलाई बन्धक बनाउने गिरोहविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर भारत पु¥याइएको थियो । त्यहाँ कोठामा थुनेर राखिएको, खानपान र आवतजावतसमेतमा कडाइ गरिएको उनीहरूको भनाइ छ । पीडितहरूले उद्धारपछि आफूमाथि भएको व्यवहारप्रति दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कारबाहीको माग गरेका छन् । त्रसित र थकित देखिएका उद्धार गरिएका नेपालीहरूले आफ्ना पीडा सार्वजनिक गर्दै भारतमा खेप्नु परेका कष्टबारे सुनाए । उनीहरूमध्ये एक पीडितले भने, “हामीलाई २३ हजार भारु लिई आकर्षक जागिरको लोभमा लगियो, तर त्यहाँ पुगेपछि कोठामा थुनेर राखियो, काम पनि भएन, खाना पनि राम्रो थिएन ।”
-1750920494.jpg)
उद्धार गरिएका नागरिकहरूलाई कञ्चनपुरस्थित गड्डाचौकी नाकामा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी डम्बरबहादुर विश्वकर्माले स्वागत गर्नुभयो । डिआइजी विश्वकर्माले भन्नुभयो, “सम्भव भएको सबै समन्वय र प्रयासमार्फत ती नेपाली नागरिकहरूको उद्धार सम्भव भएको हो । अब उनीहरूलाई सुरक्षित रूपमा घर फिर्ता पठाउने कार्य अघि बढाइएको छ ।” उद्धार कार्यमा नेपाल सरकारको परराष्ट्र मन्त्रालय, भारतको विदेश मन्त्रालय, राजदूतावास र किन इन्डिया नामक संस्थाबीच समन्वय भएको थियो । किन इन्डियाका प्रतिनिधि नवीन जोशीले भन्नुभयो, “उद्धार कार्यमा स्थानीय प्रहरी प्रशासनको महत्त्वपूर्ण भूमिका रह्यो । सबैलाई सकुशल नेपाल ल्याउन पाउँदा हामी सन्तुष्ट छौँ ।”
-1750920554.jpg)
उद्धार गरिएकामध्ये चितवनका १०, कैलालीका ९, सुनसरीका ५, उदयपुर, तेह्रथुम र पाँचथरका ४÷४ जना, दाङ, स्याङ्जा र बाँकेका ३÷३ जना, ताप्लेजुङ, डोटी र धादिङका २÷२ जना तथा सर्लाही, कास्की, रुकुम, बागलुङ, इलाम र रुपन्देहीका १÷१ जना छन् । उनीहरूलाई सम्बन्धित जिल्लामा सुरक्षित रूपमा पठाइएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । रोजगारीको सपना देखाइ नेपाली नागरिकहरूलाई भारतमा ठगी र बन्धक बनाउने कार्य दोहोरिइरहेकाले यस्ता गतिविधिप्रति सम्बन्धित निकायहरू गम्भीर बन्न आवश्यक देखिएको छ ।
🔴 कान्तिपुर टेलिभिजनमा प्रसारित विस्तृत समाचार हेर्न यहाँ क्लिक गर्नुस् ।
📺 बन्धक बनाइएका नेपालीको उद्धारबारेको विशेष समाचार
भिडियो र तस्बिर साैजन्य पत्रकार ऐश्वर्या कुँवर