श्रावण लाग्नासाथ प्रकृति हरियालीमा रमाउन थाल्छ । वन जङ्गल, डाँडा–भीर, बारी पाखा हरियालीले ढाकिन्छन् । तर हरियाली केवल वनस्पतिमा सीमित हुँदैन, सांस्कृतिक चेतना र आस्थामा पनि यसको गहिरो प्रभाव देखिन्छ । श्रावणसँगै सुरु हुने धार्मिक अनुष्ठान, व्रत, पूजा, शिव भक्ति र शिवालय यात्राले हाम्रो संस्कृति जीवित रहेको अनुभूति गराउँछ । तर, यही बेला बदलिँदो जीवनशैली, सामाजिक सञ्जाल केन्द्रित व्यवहार र प्रदर्शनमुखी संस्कारले पर्वको मौलिकता र मूल्यमा प्रश्न उठाउन थालेका छन् ।
शिव भक्ति र श्रद्धा भावसँगै अब “श्रावण फेसन” को होड देखिन्छ । व्रत बस्ने महिलाहरूको समर्पणभन्दा बढी, अब टिका, चुरा, हरियो सारी, सेल्फी र फेसबुक स्टाटसले प्राथमिकता पाउँछ । नरिवल राखेर पूजा गर्ने हातमा मोबाइल अनिवार्य देखिन्छ । फोटो खिच्न नपाएजस्तो लाग्ने, र त्यो फोटो इन्स्टाग्राम वा टिकटकमा पोस्ट नगर्दा अधुरो लाग्ने प्रवृत्तिले, पूजाको मर्मभन्दा बाहिरी रूप सज्जालाई अगाडि सार्न थालेको छ ।
संस्कारभित्र सादगी र आत्म शुद्धिको गहिरो मर्म लुकेको हुन्छ । तर अहिले त्यो मर्मभन्दा पनि ‘कसरी आफूलाई भिन्न र सुन्दर देखाउने ?’ भन्ने प्रतिस्पर्धा हाबी छ । व्रत एक साधना हो, शुद्धता र समर्पणको अभ्यास हो, तर आज त्यो सौन्दर्य प्रतियोगितामा रूपान्तरित भइरहेको छ ।
कुनै समय थियो, जब पर्वले मानिसलाई भित्रैदेखि परिवर्तन गर्थ्यो । अहिले पर्वले मानिसको फेसबुक प्रोफाइल मात्र परिवर्तन गरिरहेको देखिन्छ । यसरी परम्परा र प्रविधिको सन्तुलन खोज्ने नाममा हामी परम्परालाई नै विस्थापित गर्दै पाखण्डतर्फ अग्रसर त छैनौँ ?
धार्मिक पर्वहरू केवल पूजा गर्ने अवसर होइनन्, आत्मावलोकन, आत्मसंयम र समाजप्रतिको जिम्मेवारी झल्काउने माध्यम हुन् । तर अहिले त पर्व पनि बजारकै एउटा 'सिजन अफर' जस्तो भइरहेको छ । 'श्रावण स्पेसल ड्रेस', 'श्रावण सेल्फी स्पट', 'श्रावण टिकटक च्यालेन्ज' जस्ता शब्दहरूले श्रद्धाभन्दा मनोरञ्जनलाई प्राथमिकता दिन थालेका छन् । पूजा स्थल अब मनोरञ्जन केन्द्रजस्तो देखिन थालेको छ ।
हामीले बुझ्नुपर्छ - श्रावणको सार शृङ्गारमा होइन, सादगीमा छ । यो महिना शारीरिक, मानसिक र आत्मिक रूपमा शुद्ध बन्ने अवसर हो । जब हामी यो सन्देश बिर्सेर केवल देखावटी जीवनशैलीमा रमाउँछौँ, तब पर्वको मर्म हराउँछ । मूल्यहरू हराउँछन् । चेतना हराउँछ ।
आजको श्रावण हामीसँग प्रश्न गरिरहेको छ -
के हामी साँच्चै पूजामा लागिरहेका छौँ कि केवल प्रदर्शनमा ?
के हरियाली केवल पहिरनमा छ, कि हाम्रो सोच र जीवनशैलीमा पनि ?
सांस्कृतिक पुनर्जागरणको खाँचो अहिलेको समयको गम्भीर माग हो । यस्तो बेला पर्वलाई भित्रबाट बुझेका र अनुभूत गरेका लेखहरूले समाजलाई चेतनशील बनाउँछन् । र, भावी पुस्तालाई उत्तरदायी बनाउने काम गर्छन् ।