हरिश्चन्द्र बाग, कञ्चनपुर, ०२ साउन । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको बैठक पुनर्वास नगरपालिका वडा नम्बर ९ स्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण प्यारातालमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष सुरेश सिंह धामीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुरेश पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्मा विशिष्ट अतिथि हुनुहुन्थ्यो । बैठकमा पुनर्वास ९ का वडाध्यक्ष नरबहादुर विक, नगर कार्यपालिकाका सदस्य, वडा सदस्य, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।
प्याराताल प्रवर्द्धन तथा विकास समितिका अध्यक्ष एवम् पत्रकार दीपेन्द्र बस्नेतले प्यारातालको ऐतिहासिक, पर्यावरणीय तथा पर्यटन सम्भावनाका पक्षमा प्रकाश पार्दै स्थानीय, प्रदेश तथा संघीय सरकारले योजनाबद्ध पहल गर्नुपर्नेमा जोड दिनुभयो । बैठकमा बोल्दै प्रमुख अतिथि सुरेश पन्तले पत्रकारिता क्षेत्र देशको चौथो अंगका रूपमा जिम्मेवार हुँदै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले लोकतन्त्र सुदृढ पार्नका लागि पत्रकारहरूको भूमिका अझै प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । विशिष्ट अतिथि नगरप्रमुख तोयप्रसाद शर्माले स्थानीय तह र सञ्चार क्षेत्रबीच सहकार्य र समन्वय अनिवार्य रहेको धारणा राख्नुभयो । उहाँले प्याराताल क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासका लागि नगरपालिकाले आवश्यक प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष सुरेश सिंह धामीले दिनु भएको जानकारी अनुसार जिल्लाको सञ्चार क्षेत्र सशक्तीकरण, सुशासन प्रवर्द्धन, सूचनाको हक र सार्वजनिक सरोकारका विषयमा केन्द्रीत बैठकले ११ बुँदे महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरिएको छ । बैठकले जारी गरेको ११ बुँदे निर्णय अनुसार, स्थानीय तहहरूले सञ्चारमाध्यमलाई प्रभावकारी बनाउन आफ्नै स्थानीय सञ्चार नीति तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने, लोककल्याणकारी विज्ञापन तथा सूचना प्रकाशन-प्रसारणका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने र सार्वजनिक महत्वका सूचना स्वप्रकाशन अनिवार्य गर्नुपर्ने सुझाव दिइएको छ ।
त्यस्तै, सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्दै नगर तथा गाउँपालिकाका गतिविधिहरू सञ्चारमाध्यममार्फत नियमित सार्वजनिक गरिनुपर्ने, सञ्चारसम्बन्धी बजेट पारदर्शी, मितव्ययी र समानान्तर ढंगले वितरण गरिनुपर्ने, योजना तथा बजेटबारे जनसाधारणलाई समयमै जानकारी दिन सञ्चारमाध्यमको प्रयोग गर्नुपर्नेमा बैठकले जोड दिएको छ । सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरूलाई पत्रकार आचारसंहिता पालना गर्दै जनचासो, जनसरोकार, जनजिविका र जनगुनासोका विषय सशक्त ढंगले उठाउन अनुरोध गरिएको छ ।
बैठकले सबै स्थानीय तह, वडा कार्यालय, सरकारी तथा गैरसरकारी कार्यालय, संघ-संस्था र प्रतिष्ठानहरूलाई नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरसँग संस्थागत सहकार्य तथा समन्वय गर्न आग्रह गरेको छ । प्यारातालको पर्यटन प्रवर्द्धन र विकासका लागि बजेट सुनिश्चितता गर्न, प्रचारप्रसारमा ध्यान दिन र अन्य पर्यटकीय स्थलहरूको प्रवर्द्धनमा समेत सरकारले प्राथमिकता दिनुपर्ने बैठकको धारणा रहेको छ । महासंघले यस्ता अभियानमा आफू सधैँ प्रतिवद्ध रहने घोषणा गरेको छ । यस्तै, कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासदेखि पश्चिम उत्तरी भूभागसम्म देखिएको नेपाल-भारत सीमा विवाद तथा भारतीय अतिक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै महासंघले नेपाल सरकारलाई शीघ्र कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ । बैठक सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले हार्दिक धन्यवाद प्रकट गरेको सचिव कुन्दन पाण्डेयले जानकारी दिनुभएको छ ।