कैलाली, ०९ साउन । कैलाली जिल्लाको विभिन्न स्थानमा सञ्चालन गरिएको प्रहरी अभियानका क्रममा लागू औषध कारोबार, जुवातास तथा अवैध हातहतियारसहित एकै दिन दर्जनौँ व्यक्तिहरू पक्राउ परेका छन् । साउन ८ गतेका घटनाहरूमा प्रहरीले विभिन्न ठाउँबाट लागूपदार्थ, नगद, तास र भरुवा बन्दुक बरामद गरेको छ ।
दिउँसो २:२० बजे टीकापुर नगरपालिका–२ बन्दिपुरस्थित किसिम चौधरीको पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा चौधरीसहित १० जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट प्रहरीले नगद ६७ हजार ५९० रुपैयाँ र एक गड्डी तास बरामद गरेको छ ।
धनगढी उपमहानगरपालिका–६ जालीस्थित सडकबाट प्रहरीले ४३ वर्षीय मागु राम चौधरीलाई पक्राउ गरेको हो । शङ्कास्पद अवस्थामा चेकजाँच गर्दा चौधरीको साथबाट २४० मिलिग्राम खैरो हेरोइनजस्तो लागू औषध फेला परेको प्रहरी कार्यालयले जनाएको छ ।
त्यसै गरी, गोदावरी नगरपालिका–२ स्थित बझाङ विपिन होटेलमा बसेका बझाङ छबिसपाथिभारा–७ का ३९ वर्षीय गगन बोहराको साथबाट १ केजी लागू औषध चरेस जस्तो कालो पदार्थ फेला परेको छ । राति ९:३० बजे पक्राउ परेका बोहरा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीद्वारा नियन्त्रणमा लिइएका हुन् ।
राति ९:३५ बजे गोदावरी नगरपालिका–१ भरतपुरस्थित सडकमा चेकजाँचका क्रममा बैतडी जिल्ला सुर्नया गाउँपालिका–३ का २८ वर्षीय चन्द्र सिंह ऐरी, २५ वर्षीय मोहन भट्ट र २५ वर्षीय महेश विकको साथबाट ४६९ ग्राम लागू औषध चरेस जस्तो कालो पदार्थ फेला परेको छ । उनीहरूलाई पनि इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले पक्राउ गरी अनुसन्धान थालिएको छ ।
यसैबीच, लागू औषधसम्बन्धी मुद्दामा अदालतले पाँच वर्ष कैद र छ हजार रुपैयाँ जरिवाना सुनाएको फरार प्रतिवादी २२ वर्षीय जितराम रानालाई पनि प्रहरीले पक्राउ गरेको छ । उक्त फैसला कार्यान्वयनका लागि धनगढी उपमहानगरपालिका–१३ स्थित निजकै घरबाट रानालाई नियन्त्रणमा लिएको हो ।
राति २:४० बजे गोदावरी नगरपालिका–८ स्याउले स्थित दुई घरमा खानतलासी गर्दा भरुवा बन्दुक र वन्यजन्तुको अवशेष बरामद भएको छ । राजु चौधरीको घरबाट भरुवा बन्दुक (नाल–१), चित्तलको सिङ र खुट्टाको भाग बरामद भएको हो भने चन्द्रबहादुर चौधरीको घरबाट लोड गरिएको भरुवा बन्दुक (छर्रा भरिएको) फेला परेको प्रहरीले जनाएको छ । उनीहरू दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको छ ।
प्रहरीका अनुसार सबै घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाइएको छ भने लागूपदार्थ नियन्त्रण, अवैध हतियार नियन्त्रण र सामाजिक अपराधविरुद्धको अभियान अझै सशक्त रूपमा सञ्चालन गरिनेछ ।