देशका विभिन्न क्षेत्रमा अत्यधिक चिसो बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ । चिसोका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै मन्त्रालयले सतर्कता अपनाउन अनुरोध गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार जाडोयाम सुरु भएसँगै तापक्रम सामान्यभन्दा कम हुनु, शीतलहर, हुस्सु, कुहिरो र हिमपातजस्ता मौसमी अवस्थाले रुघाखोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने तथा हाइपोथर्मिया जस्ता समस्या देखिने गरेका छन् । पछिल्ला दिनमा यस्ता लक्षण भएका बिरामीको सङ्ख्या बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।
उहाँले चिसोका कारण देखिने लक्षण वा समस्या बढ्दै गएमा ढिला नगरी नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा ‘हेलो स्वास्थ्य’ कल सेन्टर १११५ मा फोन गरी परामर्श लिन आग्रह गर्नुभयो । स्वास्थ्य मन्त्रालयका अनुसार जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घरोगीहरू बढी जोखिममा रहने गर्छन् । साथै पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्कलगायत महत्त्वपूर्ण अङ्गमा गम्भीर असर पार्ने, दम र क्यान्सरजस्ता दीर्घरोगको जोखिम तथा मृत्युदरसमेत बढाउने गरेको प्रवक्ता डा. बुढाथोकीले बताउनुभयो ।
चिसोका कारण हुने सम्भावित रोग तथा समस्याबाट जोगिन धुवाँ र धुलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, भिटामिन ‘सी’ प्रशस्त मात्रामा हुने सुन्तला, कागती, अमला खाने, मौसमअनुसारका ताजा फलफूल र सागपात सेवन गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने तथा प्रशस्त मात्रामा झोल पदार्थ खाने गर्न मन्त्रालयले सुझाव दिएको छ । स्वास्थ्य मन्त्रालयले चिसोको समयमा सचेतना अपनाएर आफू मात्र होइन, परिवार र समुदायको स्वास्थ्य सुरक्षामा ध्यान दिन सबै नागरिकलाई आग्रह गरेको छ ।