हरिश्चन्द्र बाग, कञ्चनपुर, २७ चैत । कञ्चनपुरमा लैङ्गिक हिंसाबाट प्रभावित महिला तथा बालबालिकाका लागि सञ्चालित अल्पकालीन सेवा केन्द्रलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन बजेट अभाव देखिएको भन्दै तीनै तहका सरकारसँग बजेट माग गर्ने निर्णय गरिएको छ । सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख भीम बुढाको संयोजकत्वमा बिहीबार बसेको निर्देशन तथा समन्वय समितिको बैठकले संघ, सुदूरपश्चिम प्रदेश र जिल्लाभित्रका सबै स्थानीय तहसँग आवश्यक बजेट व्यवस्थापनका लागि पहल गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
बैठकले सेवा केन्द्र सञ्चालनमा न्यून बजेटकै कारण पर्याप्त जनशक्ति व्यवस्थापन गर्न नसकिएको, हाल दुई जना कर्मचारीबाट मात्रै सेवा सञ्चालन गर्नुपर्दा समस्या भइरहेको र मानसिक समस्या भएका पीडितहरूको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको निष्कर्ष निकालेको छ । सोही बैठकले सामाजिक विकास कार्यालय र शुभलक्ष्मी कृषि बहुउद्देश्यीय सहकारी संस्थामार्फत सञ्चालित सेवा केन्द्रको तेस्रो चौमासिक प्रगति समीक्षा समेत गरेको छ ।
प्रगति विवरण अनुसार चालु आर्थिक वर्षको पुसदेखि चैत २५ गतेसम्म २७ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये ६ वटा प्रहरीमार्फत, १५ वटा एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) मार्फत र ६ वटा सोझै संस्थामा पुगेका हुन् । उजुरीमध्ये १३ वटा कुटपिट, ९ वटा अलपत्र परेका र ५ वटा आमासँगै रहेका बालबालिकासम्बन्धी छन् । तीमध्ये २५ घटनामा पारिवारिक पुनर्मिलन गराइएको छ भने १ सम्बन्ध विच्छेद भइसकेको र १ मुद्दा प्रक्रियामै रहेको जनाइएको छ । क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी ८ उजुरी बेलौरी नगरपालिकाबाट आएका छन् । त्यसपछि भीमदत्तबाट ५, वेदकोटबाट ५, शुक्लाफाँटाबाट २, कृष्णपुरबाट १ र अन्य जिल्लाबाट ६ उजुरी दर्ता भएका छन् । त्यसअघि संस्था स्थापनाकालदेखि यसैवर्ष पुससम्म सेवा केन्द्रमा कुल उजुरी संख्या १ हजार ९६७ पुगेको बताइएको छ ।
चालु वर्ष २०८२ मा केन्द्र सञ्चालनका लागि संघीय सरकारबाट ५ लाख, प्रदेश सरकारबाट ५ लाख र भीमदत्त नगरपालिकाबाट १ लाख रुपैयाँ बजेट प्राप्त भएको छ । सेवा केन्द्रले हिंसाबाट प्रभावित महिला तथा बालबालिकाको उद्धार, संरक्षण, स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, कानुनी सेवा तथा पुनर्स्थापनामा काम गर्दै आएको छ । साथै सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने र विद्यालय छाडेका बालबालिकालाई पुनः शिक्षामा जोड्ने कामसमेत गरिएको बैठकमा जानकारी दिइएको छ ।
बैठकमा सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख भीम बुढा, भीमदत्त नगरपालिकाको महिला तथा बालबालिका शाखाबाट कुन्ती लेखक, एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) का प्रतिनिधि भावना शर्मा, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रतिनिधि नारायण दत्त पाण्डेय, नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामी, सेफ हाउसकी कर्मचारी उत्तरा शाही, भीमदत्त नगरपालिकाका प्रेमबहादुर विष्ट, WHRD का प्रतिनिधि भगवती थापा, माइती नेपालकी महेश्वरी भट्ट, शुभलक्ष्मी सहकारीकी अध्यक्ष बसन्ती सिंह लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए ।