हरिश्चन्द्र बाग, कञ्चनपुर, १५ बैशाख । कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण र नदीजन्य स्रोतको व्यवस्थापनलाई केन्द्रमा राख्दै महत्त्वपूर्ण निर्णयहरु गरिएको छ । मंगलबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढी, डुबान, डुबेर बेपत्ता हुने घटना तथा अवैध उत्खनन नियन्त्रणका लागि बहुआयामिक कदम अघि बढाउने निर्णय गरेको हो ।
बैठकले विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री स्थानीय तहले खरिद गरी नजिकको सुरक्षा निकायमार्फत परिचालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । साथै, महाकाली नदीमा नुहाउने तथा मलामी जाँदा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता हुने घटना बढ्दै गएको भन्दै भीमदत्त र दोधारा चाँदनी नगरपालिकालाई संवेदनशील स्थानमा चेतनामूलक होडिङ बोर्ड राख्न र नागरिकलाई सुसूचित गराउन निर्देशन दिइएको छ ।

त्यसैगरी, महाकाली तथा अन्य नदीहरुमा ढुङ्गा, गिट्टी, बालुवाको अत्यधिक उत्खनन र चोरीनिकासी बढेको गुनासो आएपछि स्थानीय तहलाई कडा अनुगमन गर्न र नजिकको प्रहरी कार्यालयसँग समन्वय गरी अवैध गतिविधि नियन्त्रण गर्न आग्रह गरिएको छ । नदीमा बेपत्ता हुने व्यक्तिको खोजीका लागि आवश्यक पर्दा गोताखोर झिकाउने जिम्मेवारी सम्बन्धित पालिकाले नै लिनुपर्ने निर्णय गरिएको छ ।
आगामी वर्षायामलाई लक्षित गर्दै समितिले महाकाली नदी नियन्त्रणका लागि अस्थायी ‘च्यानलाइजेसन’ कार्य गर्न अनुमति दिएको छ । यस अन्तर्गत नदीको बहावलाई नियन्त्रण गर्न करिब ३५० मिटर लम्बाइ, ४५ मिटर चौडाइ र ३ मिटर गहिराइमा च्यानल निर्माण गरिनेछ । उक्त कार्य गर्दा अन्य क्षेत्रमा कुनै नकारात्मक असर नपर्ने गरी प्राविधिक मापदण्ड पालना गर्नुपर्ने शर्त राखिएको छ ।

समितिले स्पष्ट रूपमा च्यानलाइजेसनबाट निकालिएको नदीजन्य पदार्थ नदीभित्रै प्रयोग गर्नुपर्ने, बाहिर लैजान नपाइने तथा कार्य सम्पन्न भएपछि समितिलाई जानकारी गराउनुपर्ने निर्णय गरेको छ । साथै, विपद् जोखिम न्यूनीकरणको कार्य भएकाले सम्बन्धित नगरपालिका, वडा कार्यालय तथा सरोकारवाला निकायबीच समन्वयलाई प्राथमिकता दिइने जनाइएको छ । महाकाली नदीको बाँयातर्फको तट संरक्षण (Left Bank Protection) का लागि आवश्यक ठूला ढुङ्गा (Big Boulder) उपलब्ध गराउन जिल्लाका सबै स्थानीय तहलाई सहयोग र सहजीकरण गर्न पनि आह्वान गरिएको छ ।
यसैबीच, प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने क्रममा जिल्ला वन पैदावार आपूर्ति समितिमा दर्ता भई सहुलियत दरमा काठ माग गरेका भीमदत्त नगरपालिका वडा नम्बर १४ की कुमारी गीता जोशी र वडा नम्बर १३ का मनोज दत्त पन्तलाई वन नियमावली २०७९ अनुसार काठ उपलब्ध गराउने निर्णय गरिएको छ । उनीहरु दुवैजना बाढीबाट प्रभावित भएका हुन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले गरेका यी निर्णयले महाकाली नदी क्षेत्रका बस्तीहरुको सुरक्षा, विपद् तयारी तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।