“हरेर्नाम हरेर्नाम हरेर्नामैव केवलम् ।
कलौ नास्त्येव नास्त्येव नास्त्येव गतिरन्यता ।।”
- बृहन्नारदीय पुराण
कलियुगमा मानव जीवन बाह्य सुख–सुविधाले सम्पन्न देखिए पनि भित्री रूपमा अशान्त, विचलित र आत्मिक रिक्तताले ग्रस्त देखिन्छ । यही कारण सनातन वैदिक परम्परामा व्रत, उपासना र हरिनामलाई केवल धार्मिक कर्मकाण्ड मात्र नभई आत्मशुद्धि र चेतना जागरणको मार्गका रूपमा लिइन्छ ।
यिनै पवित्र साधनाहरूमध्ये “पुरुषोत्तमा एकादशी” अत्यन्त पुण्यमयी, दुर्लभ र मोक्षदायिनी तिथिका रूपमा परिचित छ ।
पुराणअनुसार चन्द्रवर्ष र सौरवर्षबीचको अन्तर मिलाउन आउने अतिरिक्त महिनालाई भगवान् श्रीविष्णुले आफ्नै नाम प्रदान गरी “पुरुषोत्तम मास” बनाउनु भएको मानिन्छ । त्यसैले यो मासलाई विशेष कृपा, भक्ति र साधनाको कालखण्डका रूपमा लिइन्छ । यस महिनामा पर्ने एकादशीलाई हरिवासर भनिन्छ ।
यस दिन भक्तजनहरूले अन्न त्याग मात्र होइन, मनका विकारहरूको त्याग गर्ने प्रयास पनि गर्दछन् । वास्तविक व्रत पेट खाली गर्नु मात्र होइन - हृदयलाई निर्मल बनाउनु हो ।
भगवद्गीतामा भगवान् श्रीकृष्णले धर्मलाई मानव जीवनको आधार मान्दै सत्य, संयम र आत्मबोधको मार्ग देखाउनुभएको छ । यही भाव पुरुषोत्तमा एकादशीमा पनि निहित छ । यस दिन गरिने जप, ध्यान, गीता–भागवत श्रवण, दान, सत्सङ्ग र हरिकीर्तनले मनलाई शान्त, विचारलाई सात्त्विक र जीवनलाई अनुशासित बनाउँछ । विशेषतः हरिनाम संकीर्तनलाई कलियुगको सर्वश्रेष्ठ साधना मानिन्छ ।
जब भक्तका ओठमा -
“राधेकृष्ण राधेकृष्ण कृष्ण कृष्ण राधे राधे ।
राधेश्याम राधेश्याम श्याम श्याम राधे राधे ।।”
जस्ता महामन्त्रहरू गुन्जिन्छन्, तब हृदयभित्रको अन्धकार क्रमशः प्रकाशमा रूपान्तरण हुँदै जान्छ ।
पुरुषोत्तमा एकादशीले मानिसलाई लोभ, क्रोध, मोह, अहङ्कार र ईर्ष्याजस्ता आन्तरिक शत्रुमाथि विजय प्राप्त गर्ने प्रेरणा दिन्छ । संयमित उपवासले शरीरलाई विश्राम दिन्छ भने भक्ति र नामस्मरणले आत्मालाई शान्ति प्रदान गर्छ । धर्मको सार बाहिरी प्रदर्शनमा होइन - व्यवहारको नम्रता, हृदयको करुणा र जीवनको सदाचारमा निहित हुन्छ भन्ने शिक्षा यस व्रतले दिन्छ ।
अन्ततः, पुरुषोत्तमा एकादशी केवल परम्परा मात्र होइन - आत्मालाई परमात्मासँग जोड्ने आध्यात्मिक सेतु हो । जबसम्म मानव हृदयमा हरिनामको दीप प्रज्वलित रहन्छ, तबसम्म जीवनमा आशा, शान्ति र भक्ति जीवित रहिरहन्छ ।
“धनले होइन -
हरिनामले जीवन उज्यालो बन्छ ।
अहङ्कारले होइन -
समर्पणले आत्मा पवित्र बन्छ ।”
जय श्री राधाकृष्ण ।।