कैलाली, ३१ जेठ । कैलालीको घोडाघोडी क्षेत्रमा क्रियाशील सञ्चारकर्मीहरूलाई एकीकृत गर्दै पत्रकारिताको पेशागत सुदृढीकरण गर्ने उद्देश्यले गठन गरिएको घोडाघोडी सञ्चारकर्मी समूहले आफ्नो पहिलो औपचारिक नेतृत्व चयन गरेको छ । आइतबार सम्पन्न समूहको प्रथम अधिवेशनले खेम ढुङ्गानाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
गत मंसिरमा स्थापना भएको समूहले छोटो अवधिमै स्थानीय सञ्चारकर्मीहरूबीच सहकार्य, समन्वय र पेशागत संवादलाई मजबुत बनाउने प्रयास गरिरहेको छ । स्थापना कालदेखि तदर्थ समितिको नेतृत्व सम्हाल्दै आएका ढुङ्गाना अब अधिवेशनमार्फत निर्वाचित पहिलो कार्यसमितिको अध्यक्ष बनेका छन् ।
२०६८ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय ढुङ्गानाले रेडियो कैलालीबाट आफ्नो पत्रकारिता यात्रा सुरु गरेका थिए । उनी हाल ‘निर्भीक पोष्ट’का प्रकाशकसमेत हुन् । लामो समयदेखि स्थानीय मुद्दा, जनसरोकारका विषय र नागरिक आवाजलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्दै आएका ढुङ्गानाको नेतृत्वमा समूहले अझ संगठित र प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा दसीराम चौधरी, सचिवमा वीरेन्द्र शाह, सहसचिवमा ज्योति बोहरा, कोषाध्यक्षमा कालुराम चौधरी तथा सदस्यमा प्रशान्त दशौदी र रोशन रसाइली सर्वसम्मत रूपमा चयन भएका छन् ।
सुखडस्थित सुखड खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित अधिवेशनको उद्घाटन सत्रमा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावत प्रमुख अतिथिका रूपमा सहभागी थिए । उनले स्थानीय पत्रकारिता लोकतन्त्रको बलियो आधार भएको उल्लेख गर्दै सत्य, तथ्य र जिम्मेवार पत्रकारिताको आवश्यकता अझ बढ्दै गएको बताए ।
नगरप्रमुख रावतले सञ्चारकर्मीहरू समाजका ऐना भएकाले विकास निर्माण, सुशासन र जनउत्तरदायित्वका सवालमा पत्रकारहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहने धारणा राखे । उनले स्थानीय तह र सञ्चारकर्मीबीचको सहकार्यले जनसेवा थप प्रभावकारी बन्ने विश्वाससमेत व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका सचिव इन्द्रा कुमारी केसी, नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवा तथा डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनकराज पाध्याय विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।
यसैगरी घोडाघोडी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यूरे, संस्थागत विद्यालय घोडाघोडी क्लस्टरका अध्यक्ष रविलाल आचार्य, उद्योग वाणिज्य संघका उपाध्यक्ष भवानी ढकाल, JCI घोडाघोडीका अध्यक्ष धनबहादुर बडुवाल, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उद्घाटन सत्रपछि बन्द सत्र सञ्चालन गरिएको थियो । निर्वाचन समितिकी संयोजक चाँदनी आचार्यका अनुसार अध्यक्ष ढुङ्गानासहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले आइतबार नै पद तथा गोपनीयताको शपथ ग्रहणसमेत गरेका छन् । शपथ ग्रहणपछि बोल्दै नवनिर्वाचित अध्यक्ष ढुङ्गानाले संस्थालाई सञ्चारकर्मीहरूको साझा चौतारीका रूपमा विकास गरिने बताए ।
उनले पत्रकारहरूबीच एकता, सहकार्य र पारस्परिक विश्वास बढाउनु अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे । साथै, पेशागत क्षमता अभिवृद्धि, तालिम, अनुभव आदानप्रदान तथा सञ्चार क्षेत्रका साझा मुद्दामा सामूहिक आवाज उठाउने दिशामा समूह सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
ढुङ्गानाले भने, “हामी सबै सञ्चारकर्मीको साझा हित, पेशागत सुरक्षा र पत्रकारिताको मर्यादालाई केन्द्रमा राखेर अघि बढ्नेछौं । घोडाघोडी क्षेत्रका पत्रकारहरूको हकहितका लागि यो संस्था सशक्त प्लेटफर्म बन्नेछ ।”
स्थानीय स्तरमा पत्रकारहरूको संस्थागत सञ्जाल निर्माण हुनु केवल संगठन विस्तार मात्र नभई पेशागत सुदृढीकरणतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । पछिल्लो समय सञ्चार क्षेत्रमा बढ्दो चुनौती, आर्थिक दबाब, पेशागत असुरक्षा र सूचना व्यवस्थापनका जटिलताबीच यस्ता संस्थाहरूको भूमिका अझ अपरिहार्य बन्दै गएको छ ।
घोडाघोडी सञ्चारकर्मी समूहको नयाँ नेतृत्वले स्थानीय पत्रकारितालाई थप मर्यादित, जिम्मेवार र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । सञ्चारकर्मीहरूको साझा आवाजलाई संगठित गर्दै संस्थाले घोडाघोडी क्षेत्रको पत्रकारितामा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ ।