हरिश्चन्द्र बाग, कञ्चनपुर, २१ साउन । जलवायु परिवर्तनका कारण बढ्दो बाढी, नदी कटान तथा भू-क्षयको जोखिम न्यूनीकरण गर्दै वातावरण संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनलाई सुदृढ बनाउने उद्देश्यले कञ्चनपुरको लालझाडी गाउँपालिका-२ कञ्जस्थित दोदा नदी किनारमा वृक्षारोपण तथा २५० मिटर तारबार (फेन्सिङ) गरिएको छ । प्राक्टिकल एक्सन र PESWAN कञ्चनपुरको सहकार्यमा सञ्चालित ‘समृद्धिका लागि जलवायु उत्थानशीलता कार्यक्रम’ तथा Mercy Corps नेपाल र NNSWA को सहकार्यमा सञ्चालित SAAN परियोजनाको सहयोगमा लालझाडी गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रम बिहीबार बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिएको हो ।

कार्यक्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की, वडा नं. २ का अध्यक्ष आशाराम राना, कार्यपालिका सदस्य, गाउँपालिकाका कर्मचारी, कञ्ज सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय समुदाय, PESWAN तथा NNSWA का प्रतिनिधिसहित एक सयभन्दा बढी व्यक्तिको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमअन्तर्गत नदी कटान र बाढीबाट प्रभावित बाँझो जमिनमा बाँस, नेपियर घाँस, भेटिभर (Vetiver) घाँस, आँप, कागती, अम्बा, लिचीलगायत फलफूल तथा सिसौजस्ता बहुउपयोगी प्रजातिका बिरुवा रोपिएका छन् । रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण सुनिश्चित गर्न २५० मिटर क्षेत्रफलमा तारबार (फेन्सिङ) समेत गरिएको छ ।

PESWAN कञ्चनपुरका फिल्ड अधिकृत बिबेक क्षेडालका अनुसार नदी किनारमा रोपिएका भेटिभर र नेपियर घाँसले माटो समातेर कटान नियन्त्रण गर्न सहयोग पुर्याउनेछन् भने बाँस र अन्य बिरुवाले दीर्घकालीन रूपमा हरियाली विस्तार, जैविक विविधता संरक्षण तथा स्थानीय समुदायलाई आर्थिक लाभसमेत दिलाउने अपेक्षा गरिएको छ ।
गाउँपालिका अध्यक्ष निर्मल रानाले वातावरण संरक्षण अब नारामा सीमित नरही व्यवहारमा उतार्नुपर्ने आवश्यकता रहेको बताउँदै स्थानीय सरकार जलवायु परिवर्तनका असर न्यूनीकरण र विपद् जोखिम घटाउने दीर्घकालीन कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गर्नुभयाे । "आज रोपिएको एउटा बिरुवा भविष्यका पुस्ताका लागि सुरक्षा कवच बन्न सक्छ। नदी कटान रोक्न, वातावरण जोगाउन र समुदायको आयआर्जन बढाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्छ," अध्यक्ष रानाले भन्नुभयो ।

गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले महिलाको सक्रिय सहभागिता बिना वातावरण संरक्षण अभियान सफल हुन नसक्ने बताउँदै समुदायमा हरित संस्कृतिको विकास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयाे, "बिरुवा रोप्नु मात्र पर्याप्त हुँदैन, त्यसको संरक्षण र हुर्काइमा समुदायको निरन्तर जिम्मेवारी आवश्यक हुन्छ ।"
प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले स्थानीय सरकार, विकास साझेदार संस्था र समुदायबीचको सहकार्यले दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । वडा नं. २ का अध्यक्ष आशाराम रानाले दोदा नदीको कटानबाट वर्षेनी स्थानीयवासी प्रभावित हुने गरेको उल्लेख गर्दै यस्ता जैविक संरक्षणका उपायले दीर्घकालीन रूपमा जोखिम कम गर्न सहयोग पुग्ने बताउनुभयो । स्थानीय समुदायका सहभागीहरूले नदी किनारमा हरियाली विस्तारसँगै भू-क्षय नियन्त्रण, जैविक विविधता संरक्षण, बाढीको जोखिम न्यूनीकरण तथा वातावरणीय सन्तुलन कायम गर्न कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएकाे छ ।

विज्ञहरूका अनुसार भेटिभर घाँसको गहिरो जराले माटोलाई मजबुत बनाउने, बाँसले नदी किनारलाई स्थिर बनाउने तथा फलफूलका बिरुवाले भविष्यमा स्थानीय समुदायको आयआर्जनमा समेत योगदान पुर्याउने भएकाले यस्ता प्रकृतिमा आधारित समाधान (Nature-based Solutions) जलवायु अनुकूलनका प्रभावकारी उपायका रूपमा विश्वभर प्रयोग हुँदै आएका छन् ।स्थानीय सरकार, विकास साझेदार संस्था र समुदायबीचको सहकार्यमा सम्पन्न यस कार्यक्रमले दोदा नदी किनार संरक्षणसँगै हरियाली विस्तार, वातावरणीय सन्तुलन कायम राख्ने, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने तथा स्थानीय समुदायलाई दीर्घकालीन आर्थिक र वातावरणीय लाभ पुर्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।