कञ्चनपुर, २९ भदौ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ४ मालिकाटोलका ६० वर्षीय जित दमाई महाकाली नदीमा गाई गोरु तार्ने क्रममा डुबेर बेपत्ता भएका छन् । सोमबार बिहान करिब ९ः१५ बजे गाई गोरुलाई नदी तराउने क्रममा दमाई डुबेर बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।
घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर देवीस्थानबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रभातकुमार गौतमको कमाण्डमा १० जनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३५ शैलेश्वरी गण हेडक्वार्टर कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार उक्त टोलीमा सात जना विपद् व्यवस्थापन तालिमप्राप्त सशस्त्र प्रहरी छन् । उनीहरू विपद् उद्धार सामग्री र रबर बोटसहित नदीमा बेपत्ता दमाईको खोजतलासमा जुटेका छन् ।
त्यस्तै, इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट प्रहरी निरीक्षक कृष्ण सोनीको कमाण्डमा १२ जनाको प्रहरी टोली पनि घटनास्थलमा परिचालन गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा नदीमा बेपत्ता दमाईको खोजतलास गरिरहेका छन् । महाकाली नदीमा पानीको बहाव उल्लेख्य रहेकाले खोजतलास तथा उद्धारमा थप सावधानी अपनाएर खोजी कार्य भइरहेको सशस्त्र प्रहरी उपरीक्षक सिग्देलले बताए ।
सोमबार बिहान ११ बजे बनबासास्थित शारदा ब्यारेजमा महाकाली नदीको कुल बहाव ८२ हजार ९ सय ६८ क्युसेक मापन गरिएको जिल्ला विपद् व्यवस्थापन आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । कञ्चनपुर प्रशासनले नदीमा पानीको बहाव बढेको समयमा माछा मार्ने, नदी तर्ने, नदी किनारमा जाने तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न सर्वसाधारणलाई अनुरोध गर्दै आएको छ । पछिल्लो घटनापछि पनि नदी तटीय क्षेत्रमा जोखिमपूर्ण गतिविधि नगर्न र सावधानी अपनाउन प्रशासनले सर्वसाधारण नागरिकलाई आग्रह गरेको छ ।
यसअघि अघिल्लो साता मात्रै पनि महाकाली नदी किनारमा भिडियो बनाउने क्रममा दोधारा चाँदनी नगरपालिका वडा नम्बर १० कि १५ वर्षीया किशोरी सृष्टि सुनार नदीमा बगेर बेपत्ता भएकी थिइन् । उनको खोजतलासका लागि नेपाली र भारतीय सुरक्षाकर्मीहरू परिचालन गरिए पनि फेला नपरेपछि कुशको शव बनाएर दाहसंस्कार गरिएको आफन्तले जनाएका छन् ।