हरिश्चन्द्र बाग, कञ्चनपुर, २८ असोज । सुदूरपश्चिमका प्रमुख शक्ति पीठहरू मध्ये एक मानिने घटालथानका नामले अहिले विभिन्न ठाउँमा मन्दिरहरू स्थापना गरिएका छन् । मूल थान डडेलधुरा जिल्लाको अमरगढीमा अवस्थित रहेको र त्यहाँबाट बसाइसराइ गरी अन्यत्र गएका आस्थावान् नागरिकहरूले आफ्नो पायक पर्ने स्थानमा घटालथान बाबा मन्दिर स्थापित गरेको पाइन्छ । ती मध्ये कञ्चनपुरको बेलौरीमा वि.सं. २०२० सालमा स्थापना गरिएको घटालथान बाबा मन्दिर संरक्षण, प्रवर्धन र प्रचारप्रसारको पर्खाइमा रहेको छ ।

वि.सं. २०२० सालमा तत्कालीन भन्सार कार्यालयका कर्मचारी धनबहादुर बोगटीको परिवारले कञ्चनपुरको बेलौरी स्थित कलकत्तामा स्थापना गरेको घटालथान बाबाको मन्दिर अहिले यस क्षेत्रकै सार्वजनिक मन्दिरका रूपमा रहेको छ । त्यस समयमा घटालथानका एक जना धामी खर काट्न कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित भारतीय सीमावर्ती ठाउँमा पुगेर बाटो अलमलिँदा परिचित धन बहादुर बोगटीसम्म पुगाइदिन भारतीय नागरिकसँग आग्रह गर्दा ती भारतीय नागरिक (पञ्जावी सरदार) ले सम्पर्कमा ल्याइदिएको र त्यही समयमा घटालथान स्थापना गरी पूजाआजा गर्न भनी काँपेर आदेश दिएको हुँदा बेलौरीको कलकत्तामा घटालथान स्थापना गरिएको मन्दिरका संस्थापक पद्मादेवी बोगटीले बताउनु भयो ।

सुरुमा एउटा त्रिशूल र दियो मात्रै राखेर पूजाआजा गरिने उक्त घटालथानमा अहिले थुप्रै भौतिक संरचना, ध्वजा नेजा, भगवान्का प्रतिमूर्तिहरू स्थापना गरिएका छन् । मन्दिरसँगै धर्मशाला समेत निर्माण गरिएको भए पनि अहिले भने धर्मशाला जीर्ण अवस्थामा रहेको छ । अहिले वयोवृद्ध अवस्थामा रहनु भएका धनबहादुर बोगटी र पद्मादेवी बोगटीले आफ्ना छोरा स्व. रवीन्द्र बोगटी तथा पितृहरूको स्मरणमा २०६७ सालमा मन्दिरको प्रवेशद्वार समेत निर्माण गर्नु भएको थियो । घटालथान क्षेत्रको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै पूर्वाधार निर्माण, प्रचारप्रसार र पर्यटन प्रवर्धनका काम गर्नुपर्नेमा स्थानीय वासु खडायतले जोड दिनुभयो ।

बेलौरी नगरपालिकाले घटालथान मन्दिर क्षेत्रको विकासका लागि भण्डारण गृह निर्माण र मर्मत सम्भार तथा रंगरोगनको कार्य गरेको छ । त्यस्तै आगामी दिनहरूमा समेत घटालथान सहित अन्य धार्मिक क्षेत्रको प्रवर्धनका लागि स्थानीय तहले योजना बनाएको बेलौरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नन्दकुमार रानाको भनाइ छ । मागेको वर पाइने स्थानका रूपमा परिचित घटालथान बाबा मन्दिरमा विभिन्न समयमा पूजाआजा गर्न भक्तजनहरू पुग्ने गरेका छन् । निःसन्तानलाई सन्तान र खडेरी परेको बेला पानी दिने देवताका रूपमा विश्वास गरिने घटालथानलाई सुदूरपश्चिम क्षेत्रको मुख्य धार्मिक शक्ति पीठका रूपमा लिइन्छ ।


