तर्कराज भट्ट, डडेलधुरा, १० जेठ । पशु वस्तुमा थरी थरीका रोग लाग्न थालेपछि डडेलधुराका किसान पशुपालन पेसाबाटै पलायन हुन थालेका छन् । डडेलधुराको आलितालका नागरिकले कृषि र पशुपालनलाई मुख्य पेसा बनाएका छन् । तर पछिल्लो केही समय यता पशु वस्तुमा बेलाबेलामा विभिन्न महामारी फैलिएपछि सोचे जस्तो आम्दानी लिन नसकिएको स्थानीय किसानको भनाइ छ । दुई दशकदेखि बाख्रा पालन गर्दै आएका आलिताल गाउँपालिका–२ काफलीका किसान चेतबहादुर मल्लले यस पटक नराम्रोसँग क्षति व्यहोरेपछि बाख्रा पाल्नै छोडेको बताए ।
जिल्ला सदरमुकाममा रहेको भेटेरिनरी अस्पतालबाट सेवा लिन टाढा पर्ने र वडामा रहेको पशु सेवा केन्द्रमा रहेका प्राविधिकहरू दक्ष नहुने किसानहरूको भनाइ छ । अर्का किसान शान्तिप्रसाद भट्टले बाख्रा मरेर खोर रित्तै हुँदा समेत प्राविधिक सल्लाह र उपचार नपाएको गुनासो गरे । आम्दानीको मुख्य स्रोत नै बाख्रा पालनलाई बनाएका स्थानीय किसान अहिले धमाधम पलायन भइरहेका छन् । आवश्यक पर्दा पशु चिकित्सकको सेवा, औषधी, दाना नपाउने जस्ता समस्या र स्थानीय तहले अनुदानमा कन्जुस्याइँ गर्दा पनि किसान पीडित बनेका हुन । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेलधुराका प्रमुख देवराज भट्टले पर्याप्त जनशक्ति नहुँदा किसानले चाहे जस्तो छिटो छरितो सेवा दिन नसकिएको बताए । आलिताल गाउँपालिका भित्र २० ओटा बाख्रा फर्म दर्ता छन् । यो बाहेक एक सयभन्दा बढी किसान बाख्रा पालन व्यवसायमा आबद्ध छन् । बोयर, बारबेरी, जमुनापारी, खरी लगायत जातका बाख्रा पाल्दै आएका स्थानीय किसान बेलाबेलामा बाख्रामा महामारी रोग देखिएपछि हतोत्साहित बनेका छन् ।