हरिश्चन्द्र बाग, कञ्चनपुर, १९ असार । कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुर कञ्चनपुरको आयोजनामा सुदूरपश्चिमका पहाडी सात जिल्लाका अगुवा कृषकहरूलाई लक्षित गर्दै तीन दिने प्राङ्गारिक तथा प्राकृतिक खेती तालिम सम्पन्न भएको छ । असार १६ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिएको तालिममा बझाङ, बाजुरा, डोटी, अछाम, दार्चुला, बैतडी र डडेलधुराका किसानहरू सहभागी भएका हुनुहुन्थ्यो ।

तालिम सुन्दरपुर कञ्चनपुरको तालिम कक्षमा सञ्चालन गरिएको हो । तालिममा जैविक मल, कीटनाशकको विकल्प, माटोको बनावट र पोषण व्यवस्थापन, मौसमी तथा बहु वर्षीय तरकारी खेती, माटो परीक्षण, जलवायु अनुकूल खेती प्रविधि लगायतका विषयमा व्यवहारिक तथा सैद्धान्तिक जानकारी दिइएको थियो ।

त्यस्तै कञ्चनपुर र कैलालीका किसान प्रतिनिधिहरूलाई 'सुदर्शन क्रिया' समेत गराइएको छ । स्वास्थ्य, स्फूर्ति र मानसिक सन्तुलन कायम गर्न सुदर्शन क्रिया प्रभावकारी हुने विश्वासका साथ यो अभ्यास समावेश गरिएको हो ।

तालिम केन्द्रका प्रमुख यज्ञराज जोशी भन्नुहुन्छ, “कृषकको जीवनमा मानसिक सन्तुलन, स्वास्थ्य र सकारात्मक सोचको ठूलो भूमिका हुन्छ । खेतीलाई मात्रै होइन, जीवनशैलीलाई पनि प्राकृतिक र सन्तुलित बनाउने उद्देश्यले हामीले आध्यात्मिक अभ्यासलाई तालिममा जोड्यौँ ।”

उहाँले थप भन्नुभयो, “हाम्रो खेती प्रणालीमा अब विज्ञान र योग दुवैको सहकार्य आवश्यक छ । जब कृषक आत्मबल र आत्मविश्वासले भरिपूर्ण हुन्छन्, तब मात्रै उनीहरूको उत्पादन र जीवनस्तरमा दिगो परिवर्तन सम्भव हुन्छ ।” तालिम सहभागी किसानहरूले यस्तो संयोजनलाई उपयोगी बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रमको निरन्तरता दिनुपर्ने माग गर्नुभएको छ ।