हरिश्चन्द्र बाग, कञ्चनपुर, २४ असार । खेत जोत्नेदेखि धान रोप्नेसम्म हरेक सिजनमा बेलौरीका किसानको एउटै चिन्ता हुन्थ्यो, मजदुर कहाँबाट ल्याउने ? गाउँमा काम गर्ने जनशक्ति घट्दै जाँदा मजदुरको ज्याला पनि महँगिँदै गएको छ । खेती गर्ने लागत बढेपछि कतिपय किसानले खेतीयोग्य जमिन बाँझै छाड्न थालेका छन् भने केहीले खेतीको क्षेत्रफल नै घटाएका छन् ।
तर यसपालि दक्षिण कञ्चनपुरको बेलौरीमा कृषि यान्त्रिकीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले बेलौरी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा ८४ लाख रुपैयाँ बराबरका १७६ थान आधुनिक कृषि उपकरण कृषक, कृषक समूह तथा कृषि फर्मलाई वितरण गरेको छ । नगरपालिकाको ४२ लाख रुपैयाँ र लाभग्राहीको बराबर साझेदारीमा उपकरण खरिद गरिएको हो ।
यसै गरी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, कञ्चनपुरले बेलौरी नगरपालिका वडा नम्बर २ टेडुवामा सञ्चालन गरेको धानको चक्लाबन्दी विकास कार्यक्रमअन्तर्गत करिब १७ लाख रुपैयाँ बराबरका आधुनिक कृषि यन्त्र, सिँचाइ सामग्री तथा उत्पादन सामग्री वितरण गरेको छ । सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा सञ्चालन भएको कार्यक्रममा १५ हेक्टर क्षेत्रफलमा गुणस्तरीय धानको बीउ उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
स्थानीय सरकारको कृषि यान्त्रिकीकरण कार्यक्रम र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालन हुँदा बेलौरीका किसानले आधुनिक उपकरणसँगै गुणस्तरीय बीउ उत्पादनका लागि आवश्यक प्राविधिक सहयोग पनि पाएका छन् । नगरपालिकाले वितरण गरेका सामग्रीमा मोटर, पम्पसेट, मिनी टिलर, पावर टिलर, रोटाभेटर, कल्टिभेटर, चारचक्के पावर टिलर, रिपर, कम्बाइन मिल, लेजर ल्यान्ड लेभलर, पावर स्प्रेयर र ट्रेन्चरलगायतका उपकरण छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत पावर टिलर, मिनी टिलर, धान थ्रेसर, रोटाभेटर, लेभलर, तीन वटा बोरिङ, छ थान विद्युतीय मोटर र डेलिभरी पाइप वितरण गरिएको छ ।
बेलौरी नगरपालिकाका कृषि विकास शाखा प्रमुख सुमनराज जोशीले पछिल्ला वर्षमा कृषि क्षेत्रमा श्रमिक अभाव सबैभन्दा ठूलो चुनौती बनेको बताए । “खेती गर्ने बेला मजदुर पाइँदैन, पाइए पनि अत्यधिक ज्याला तिर्नुपर्छ । यस्तो अवस्थामा आधुनिक कृषि उपकरण किसानका लागि उपयोगी हुन्छन् । उपकरणको प्रयोगले खेती समयमै सम्पन्न हुन्छ, उत्पादन लागत घट्छ र कृषिलाई व्यावसायिक बनाउन सहयोग पुग्छ,” उनले भने ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, कञ्चनपुरका प्रमुख गोविन्दराज जोशीले चक्लाबन्दी प्रणाली गुणस्तरीय बीउ उत्पादनका लागि प्रभावकारी भएको बताए । “छरिएर खेती गर्दा गुणस्तर नियन्त्रण गर्न गाह्रो हुन्छ । एउटै क्षेत्रमा एउटै जातको धान वैज्ञानिक ढङ्गले उत्पादन गर्दा आधुनिक उपकरण प्रयोग गर्न सहज हुन्छ, लागत घट्छ र गुणस्तरीय बीउ उत्पादन गर्न सकिन्छ । त्यसैले चक्लाबन्दी कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ,” उनले भने ।
बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले कृषि क्षेत्रलाई स्थानीय अर्थतन्त्रको आधारका रूपमा लिँदै नगरपालिकाले निरन्तर लगानी गरिरहेको बताए । “किसानको मेहनतलाई प्रविधिसँग जोड्न सकियो भने उत्पादन र आम्दानी दुवै बढ्छ । आधुनिक कृषि अहिले आवश्यकता बनेको छ । त्यसैले आगामी वर्षहरूमा पनि कृषि यान्त्रिकीकरणलाई प्राथमिकतामा राख्नेछौँ,” उनले भने ।
कार्यक्रम कार्यान्वयनमा सहजीकरण गरिरहेको सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक राजेन्द्रबहादुर सिंहले कार्यक्रम उपकरण वितरणमा मात्र सीमित नभई उत्पादनदेखि बजारीकरणसम्म जोडिएको बताए । “किसानलाई गुणस्तरीय बीउ, प्राविधिक परामर्श र आवश्यक कृषि सामग्री उपलब्ध गराउनेदेखि उत्पादनपछि बजार व्यवस्थापन गर्ने जिम्मेवारी पनि सहकारीले लिएको छ । किसानले उत्पादन गरेको गुणस्तरीय धानको बीउ बजार नपाउने अवस्था आउँदैन । बजार मूल्यभन्दा राम्रो मूल्यमा खरिद गर्ने व्यवस्था गरेका छौँ । यसले किसानलाई ढुक्क भएर गुणस्तरीय बीउ उत्पादन गर्न प्रेरित गरेको छ,” उनले भने ।
कार्यक्रममा प्राविधिक रूपमा खटिएका सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कृषि प्राविधिक अमित चौधरीले चक्लाबन्दी प्रणालीले कृषि यान्त्रिकीकरणलाई प्रभावकारी बनाएको बताए । “छरिएर खेती गर्दा मेसिनको प्रभावकारी उपयोग गर्न सकिँदैन । एउटै क्षेत्रमा सामूहिक रूपमा खेती गर्दा खेत तयारीदेखि बाली भित्र्याउनेसम्मका काम समयमै सम्पन्न गर्न सकिन्छ । यसले उत्पादन लागत घटाउनुका साथै गुणस्तरीय बीउ उत्पादनमा पनि सहयोग पुर्याउँछ,” उनले भने ।
बेलौरी नगरपालिका २ टेडुवाका बीउ उत्पादन समूहका संयोजक शङ्कर चौधरीले चक्लाबन्दी प्रणाली लागू भएपछि खेती गर्ने शैलीमा परिवर्तन आएको बताए । “पहिले खेत जोत्न, रोपाइँ गर्न र गोडमेलका लागि धेरै मजदुर चाहिन्थ्यो । अहिले आधुनिक उपकरण प्रयोग गर्दा छोटो समयमा धेरै काम गर्न सकिन्छ । लागत घटेको छ र काम पनि छिटो हुन्छ । सबै किसान मिलेर एउटै व्यवस्थापनमा खेती गर्दा उत्पादन राम्रो हुने विश्वास छ,” उनले भने ।
चक्लाबन्दी कार्यक्रमबाट प्रत्यक्ष लाभ लिएकी बेलौरी नगरपालिका २ टेडुवाकी किसान सुनकुमारी चौधरीले आधुनिक कृषि उपकरण पाएपछि खेती गर्न सहज भएको बताइन् । “पहिला रोपाइँको बेला मजदुर खोज्दै हिँड्नुपर्थ्यो । धेरै खर्च हुन्थ्यो । अहिले मेसिन पाएपछि समय पनि बच्ने भयो, खर्च पनि घट्ने भयो । महिलाले पनि धेरै काम आफैँ गर्न सक्ने भएका छौँ । अब खेती गर्न झन् हौसला बढेको छ,” उनले भनिन् ।
नगरपालिकाको यान्त्रिकीकरण कार्यक्रमबाट लाभान्वित किसानहरूले पनि खेती प्रणालीमा आधुनिकीकरणको महसुस गरेको बताएका छन् । बेलौरी नगरपालिका ४ की किसान कलावती जैसीले आधुनिक उपकरणले खेती गर्न सहज बनाएको बताइन् । “पहिले खेती गर्दा खर्च मात्रै बढिरहेको जस्तो लाग्थ्यो । अहिले मेसिनले धेरै काम गर्न थालेपछि समय बच्ने र लागत पनि घट्ने भएको छ । यस्ता कार्यक्रम किसानका लागि उपयोगी छन्,” उनले भनिन् ।
बेलौरी नगरपालिका ८ की किसान रमिता रानाले आधुनिक उपकरणका कारण महिलालाई खेती गर्न सहज भएको बताइन् । “पहिले धेरै कामका लागि अरूमाथि निर्भर हुनुपर्थ्यो । अहिले उपकरणका कारण महिलाले पनि धेरै काम आफैँ गर्न सक्ने भएका छन् । यसले खेती गर्ने आत्मविश्वास बढाएको छ,” उनले भनिन् ।
बेलौरी नगरपालिका ९ का किसान सुरेन्द्रप्रसाद भट्टले कृषि क्षेत्रमा बढ्दो श्रमिक अभावका बेला आधुनिक उपकरणले राहत पुगेको बताए । “समयमै मजदुर नपाउँदा खेती ढिलो हुन्थ्यो । उत्पादनमा पनि असर पर्थ्यो । अहिले उपकरण प्रयोग गर्न पाएपछि त्यो समस्या धेरै हदसम्म कम हुने देखिएको छ,” उनले भने ।
बेलौरी नगरपालिका ५ का किसान प्रेमबहादुर चौधरीले कृषि यान्त्रिकीकरणका कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्ने बताए । “एक वर्ष उपकरण वितरण गरेर मात्रै हुँदैन । किसानलाई व्यावसायिक बनाउन यस्ता कार्यक्रम प्रत्येक वर्ष सञ्चालन हुनुपर्छ । त्यसो भयो भने युवालाई पनि खेतीतर्फ आकर्षित गर्न सकिन्छ,” उनले भने ।
स्थानीय क्षेत्रमा ‘कृषि वैज्ञानिक’ का रूपमा परिचित बेलौरी नगरपालिका ६ का अगुवा किसान आसरेराम वडायकले कृषि क्षेत्रमा श्रमिक अभाव, बढ्दो उत्पादन लागत र खेतीप्रतिको घट्दो आकर्षण अहिलेका प्रमुख चुनौती भएको बताए । “अब कृषि यान्त्रिकीकरण विकल्प होइन, आवश्यकता हो । खेत तयारीदेखि रोपाइँ, गोडमेल र बाली भित्र्याउनेसम्मका काम समयमै गर्न सकिए मात्रै किसानले नाफा कमाउन सक्छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारले यस्ता कार्यक्रमलाई निरन्तरता दिन सके किसानको हातमा प्रविधि, उत्पादनमा वैज्ञानिक व्यवस्थापन र बजारको सुनिश्चितता जोड्न सकिन्छ । त्यसो भयो भने बेलौरीमा सुरु भएको अभ्यास अन्य क्षेत्रमा पनि विस्तार गर्न सकिने नमुना बन्न सक्छ,” उनले भने ।
याे समाचार www.ekantipur.com बाट साभार गरिएकाे हाे ।