हरिश्चन्द्र बाग, कञ्चनपुर, २१ असार । परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै कृषि उत्पादनमा आत्मनिर्भर बन्ने अभियानलाई कञ्चनपुरको बेलौरीमा थप गति मिलेको छ । किसानको उत्पादन लागत घटाउने, श्रमको अभावलाई प्रविधिमार्फत समाधान गर्ने र गुणस्तरीय धानको बीउ उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले बेलौरीका कृषकलाई आधुनिक कृषि यन्त्र तथा उत्पादन सामग्री हस्तान्तरण गरेको छ । बेलौरी नगरपालिका वडा नम्बर २ टेडुवामा सञ्चालन भएको धानको चक्लाबन्दी विकास कार्यक्रम अन्तर्गत बीउ उत्पादनमा आबद्ध कृषक समूहलाई आइतबार एक विशेष कार्यक्रमका बीच आधुनिक कृषि उपकरण तथा उत्पादन सामग्री वितरण गरिएको हो । कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममार्फत सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको समन्वयमा सञ्चालन गरिएको हो । कार्यक्रमले विशेष गरी धानको बीउ उत्पादनलाई व्यावसायिक र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ ।


खेतीपातीमा बढ्दो श्रमिक अभाव, उत्पादन लागतको वृद्धि र जलवायु परिवर्तनबाट सिर्जित चुनौतीलाई मध्यनजर गर्दै आधुनिक कृषि उपकरणको प्रयोगलाई प्राथमिकता दिइएको हो । बीउ उत्पादन समूहका संयोजक शंकर चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । त्यसैगरी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कञ्चनपुरका कार्यालय प्रमुख गोविन्दराज जोशी, कृषि अधिकृत ध्रुवराज जोशी, बेलौरी नगरपालिका कृषि विकास शाखा प्रमुख सुमनराज जोशी, सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक राजेन्द्रबहादुर सिंह, सहकारीका पदाधिकारी तथा बीउ उत्पादनमा आबद्ध कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यालय प्रमुख गोविन्दराज जोशीका अनुसार आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत कृषकलाई ५० प्रतिशत अनुदानमा १ थान पावर टिलर, ५ थान मिनी टिलर, १ थान धान थ्रेसर, १ थान रोटाभेटर, १ थान लेभलर, ३ वटा बोरिङ जडान, ६ थान विद्युतीय पानी तान्ने मोटर तथा ३ क्विन्टल ६० केजी डेलिभरी पाइप हस्तान्तरण गरिएको हो । उहाँका अनुसार यी उपकरणले खेतीको सम्पूर्ण प्रक्रियालाई सहज, छिटो र कम खर्चिलो बनाउने अपेक्षा गरिएको छ । आधुनिक कृषि प्रविधिको प्रयोगले उत्पादन लागत घटाउनुका साथै उत्पादकत्व वृद्धि गर्न र गुणस्तरीय बीउ उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

यन्त्र उपकरण हस्तान्तरण पश्चात् सञ्चारकर्मीहरूसँग संवाद गर्दै नगर प्रमुख पोतिलाल चौधरीले कृषि क्षेत्रको आधुनिकीकरण अहिलेको आवश्यकता मात्र नभई समृद्धिको आधार भएको बताउनुभयो । किसानलाई उपलब्ध गराइएका कृषि उपकरणको अधिकतम उपयोग गर्दै गुणस्तरीय धानको बीउ उत्पादनमा केन्द्रित हुन उहाँले लाभग्राहीहरूलाई आग्रह गर्नुभयो । उहाँले स्थानीय स्तरमै गुणस्तरीय बीउ उत्पादन बढेमा कृषकको आम्दानी वृद्धि हुनुका साथै बाहिरी बजारमा निर्भरता पनि कम हुँदै जाने उल्लेख गर्नुभयो । कृषि उत्पादनलाई व्यवसायसँग जोड्दै युवालाई समेत खेतीतर्फ आकर्षित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ छ ।

यस कार्यक्रम अन्तर्गत १५ हेक्टर क्षेत्रफलमा धानको बीउ उत्पादन गर्ने लक्ष्य राखिएको छ । चक्लाबन्दी प्रणालीमार्फत एउटै क्षेत्रमा वैज्ञानिक ढङ्गले खेती सञ्चालन गरिने भएकाले उत्पादनको गुणस्तर सुधार हुनुका साथै व्यवस्थापन पनि प्रभावकारी हुने अपेक्षा गरिएको छ । सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक राजेन्द्रबहादुर सिंहका अनुसार सहकारीले बीउ उत्पादनमा संलग्न कृषकलाई आवश्यक धानको बीउ, मल तथा अन्य उत्पादन सामग्री निरन्तर उपलब्ध गराउँदै आएको छ । उत्पादनपछि कृषकबाट बजार मूल्यभन्दा बढी मूल्यमा धानको बीउ खरिद गर्ने व्यवस्था मिलाइएकाले किसानलाई उत्पादनप्रति थप हौसला मिलेको उहाँले बताउनुभयो । उहाँका अनुसार उत्पादनदेखि बजारीकरणसम्म सहकारीले जिम्मेवारी लिने व्यवस्थाले कृषकको जोखिम कम हुनुका साथै गुणस्तरीय बीउ उत्पादनको दिगोपन सुनिश्चित गर्न सहयोग पुगेको छ ।

कार्यक्रमसँगै सार्वजनिक सुनुवाइ पनि आयोजना गरिएको थियो । सार्वजनिक सुनुवाइमा कार्यक्रमको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे जानकारी गराइएको थियो । सहभागी कृषकहरूले आधुनिक कृषि उपकरण प्राप्त भएपछि धानको बीउ उत्पादन अझ सहज हुने, श्रम खर्च घट्ने र उत्पादन वृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ । कृषकहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिन सके ग्रामीण क्षेत्रमा व्यावसायिक कृषि विस्तार हुनुका साथै किसानको आयआर्जन वृद्धि, स्थानीय रोजगारी सिर्जना र कृषि क्षेत्रमा आत्मनिर्भरताको लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभएको छ ।

आधुनिक प्रविधि, सहकारीको सक्रिय भूमिका र किसानको मेहनतलाई एकै ठाउँमा जोड्ने यस्ता कार्यक्रमले बेलौरीमा कृषि क्षेत्रलाई नयाँ दिशा दिएको छ । गुणस्तरीय बीउ उत्पादनमार्फत स्थानीय कृषि अर्थतन्त्रलाई बलियो बनाउने अभियानले आगामी दिनमा अझ सकारात्मक परिणाम दिने अपेक्षा गरिएको छ ।