हरिश्चन्द्र बाग, कञ्चनपुर, १५ असार । कञ्चनपुरमा पनि २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विशेष कार्यक्रमसहित उत्साहपूर्वक मनाइएको छ । “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराका साथ सोमबार मनाइएको दिवसले कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा र किसान सशक्तीकरणको आवश्यकता पुनः उजागर गरेको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई कञ्चनपुर र बेलौरी नगरपालिकाको कृषि विकास शाखाको संयुक्त आयोजना तथा गुराँस आइपिएम कृषक समूहको समन्वयमा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ ठूलो सिंहपुरमा धान रोपाइँसहित विशेष कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कृषक, जनप्रतिनिधि, कृषि प्राविधिक, स्थानीयवासी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । हिलोले भरिएको खेतमा सामूहिक धान रोपाइँसँगै गाउँले वातावरण झनै जीवन्त बनेको थियो । परम्परागत कृषि संस्कृतिलाई संरक्षण गर्दै आधुनिक प्रविधिको सन्देश फैलाउने उद्देश्यसहित आयोजित कार्यक्रमले कृषिमा नयाँ ऊर्जा थपेको सहभागीहरूको भनाइ छ ।

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले धान दिवस औपचारिक कार्यक्रम मात्रै नभई किसानको मेहनत, पसिना र राष्ट्रको खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिएको दिवस भएको बताए । उनले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर स्थानीय सरकारले किसानमैत्री नीति तथा कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै कृषि उत्पादन वृद्धि बिना समृद्धि सम्भव नरहेको बताए । उनले भने, “धान दिवसले कृषि क्षेत्रको महत्व उजागर गर्नुका साथै उत्पादन वृद्धि र खाद्य सुरक्षाका लागि सबैको साझा प्रतिबद्धता आवश्यक रहेको सन्देश दिएको छ । किसान बलियो भए मात्रै स्थानीय अर्थतन्त्र बलियो हुन्छ ।”
बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले कृषि अझै पनि ग्रामीण अर्थतन्त्रको मेरुदण्ड रहेको बताए । जलवायु परिवर्तनका कारण खेतीपातीमा नयाँ चुनौती थपिएको उल्लेख गर्दै उनले किसानलाई समयानुकूल ज्ञान, सीप र प्रविधिसँग जोड्न आवश्यक रहेको बताए । उनका अनुसार स्थानीय सरकारले कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने योजना बनाएको छ ।

बेलौरी नगरपालिका कृषि विकास शाखाका प्रमुख सुमन राज जोशीले जलवायु परिवर्तनले परम्परागत खेती प्रणालीमा प्रत्यक्ष असर पारिरहेको भन्दै अब प्रविधिमैत्री र जलवायुमैत्री कृषि अभ्यास अपरिहार्य बनेको बताए । उनले भने, “जलवायु परिवर्तनका चुनौतीबीच आधुनिक प्रविधिको प्रयोगमार्फत धान उत्पादन बढाई आत्मनिर्भर बन्न सकिन्छ । कृषकलाई प्रविधि, तालिम र प्राविधिक सहयोग उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध छ ।”
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई कञ्चनपुरका प्रमुख गोविन्द राज जोशीले कञ्चनपुर धान उत्पादनका हिसाबले सम्भावनायुक्त जिल्ला भएको बताए । उत्पादन वृद्धि, लागत न्यूनीकरण र आधुनिक कृषि प्रणाली विस्तारमा सरकारी निकायले विशेष प्राथमिकता दिएको उनले बताए । उनले उन्नत बीउ, यान्त्रिकीकरण, सिँचाइ व्यवस्थापन र प्राविधिक परामर्शमार्फत कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको स्पष्ट पारे ।
गुराँस आइपिएम कृषक समूहकी राजकुमारी चौधरीले किसानले धेरै चुनौतीबीच पनि खेतीलाई निरन्तरता दिइरहेको बताइन् । मौसमको अनिश्चितता, मलखाद र सिँचाइ अभाव तथा उत्पादन लागत वृद्धि जस्ता समस्याबीच पनि किसानले हार नमानेको उनको भनाइ थियो । उनले किसानलाई सम्मान, बजार सुनिश्चितता र पर्याप्त प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याइन् ।
कार्यक्रम अन्तर्गत हिलाम्मे खेतमा दौड प्रतियोगिता, रस्सी तान्ने खेल तथा सामूहिक धान रोपाइँ कार्यक्रम गरिएको थियो । प्रतियोगिताले कार्यक्रमलाई थप रमाइलो र आकर्षक बनाएको थियो । विजेताहरूलाई कृषि सामग्री पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । सहभागीहरूले धान दिवसले कृषि उत्पादनको विषय मात्र नभई हाम्रो संस्कृति, परम्परा र सामूहिक श्रमको मूल्य पनि सम्झाउने बताएका छन् । आधुनिक कृषि प्रविधिको उपयोगसँगै परम्परागत ज्ञानको संरक्षण गर्न सके उत्पादनमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गरिएको छ ।
यसैबीच कञ्चनपुरका अन्य स्थानीय तहहरू तथा विभिन्न संघसंस्थाहरूले पनि विविध कार्यक्रमसहित २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन् । जिल्लाका विभिन्न स्थानमा सामूहिक रोपाइँ, कृषक सम्मान, कृषि संवाद तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । यद्यपि दिवसका अवसरमा उत्सव मनाइए पनि किसानका समस्या भने अझै पूर्ण रूपमा समाधान हुन सकेका छैनन् । अनियमित वर्षा, लामो खडेरी, मल तथा सिँचाइ अभाव, उत्पादन लागत वृद्धि तथा बजार अस्थिरता जस्ता चुनौती अझै कायम छन् । यस्ता समस्याको दीर्घकालीन समाधानका लागि नीति, प्रविधि, लगानी र किसानमैत्री कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।
धान दिवसले फेरि एकपटक स्पष्ट पारेको छ कि, नेपालको समृद्धिको आधार कृषि नै हो । किसानको श्रमको सम्मान गर्दै आधुनिक, दिगो र जलवायुमैत्री कृषि प्रणाली अपनाउन सके धानमा आत्मनिर्भरता मात्र होइन, समग्र आर्थिक समृद्धितर्फ पनि बलियो कदम चाल्न सकिने छ ।