हरिश्चन्द्र बाग, कञ्चनपुर, २३ असार । खेती गर्ने बेला मजदुर पाइँदैन, पाइए पनि ज्याला महँगो । यही समस्याले हैरान किसानलाई बेलौरी नगरपालिकाले आधुनिक कृषि उपकरण दिएपछि अब खेतमा मेसिनको आवाज बढ्ने अपेक्षा गरिएको छ । ५० प्रतिशत अनुदानमा वितरण गरिएका १७६ थान कृषि यन्त्रले किसानमा नयाँ उत्साह थपेको छ । आधुनिक उपकरणको प्रयोगबाट खेती सहज हुने, लागत घट्ने र उत्पादन बढ्ने अपेक्षासँगै लाभग्राही कृषकहरूले अब आधुनिक प्रविधिमा आधारित व्यावसायिक कृषितर्फ थप आत्मविश्वासका साथ अघि बढ्ने विश्वास व्यक्त गर्नु भएको छ ।
| स्रोत | रकम |
|---|
| बेलौरी नगरपालिका | रु. ४२ लाख |
| किसानको साझेदारी | रु. ४२ लाख |
| कुल लागत | रु. ८४ लाख |
बेलौरी नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत नगरपालिकाको ४२ लाख रुपैयाँ र लाभग्राही किसानको बराबर साझेदारी गरी कुल ८४ लाख रुपैयाँको लागतमा खरिद गरिएका कृषि यान्त्रिकीकरण सामग्री मंगलबार कृषक, कृषक फर्म तथा कृषि समूहलाई हस्तान्तरण गरेको हो । नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै उत्पादन वृद्धि, कृषिलाई आधुनिक बनाउने तथा कृषकको आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
वितरण गरिएका सामग्रीमा मोटर, पम्पसेट, मिनी टिलर, पावर टिलर, रोटाभेटर, कल्टिभेटर, रिपर, कम्बाइन मिल, लेजर ल्यान्ड लेभलर, पावर स्प्रेयर, ट्रेन्चरलगायत कुल १७६ थान आधुनिक कृषि उपकरण रहेका छन् ।
| सामग्री | संख्या |
|---|
| २ एचपी मोटर | ९२ |
| पम्पसेट | १७ |
| मिनी टिलर | १० |
| रोटाभेटर | ५ |
| कल्टिभेटर | १० |
| पावर टिलर | १० |
| चारचक्के पावर टिलर | ५ |
| सुगरकेन मल्चर | २ |
| राजाहल | २ |
| रिपर | २ |
| कम्बाइन मिल | २ |
| लेजर ल्यान्ड लेभलर | २ |
| रेजर | ९ |
| पावर स्प्रेयर | ३ |
| ट्रेन्चर | ५ |
कृषि विकास शाखाका प्रमुख सुमनराज जोशीले कृषि क्षेत्रमा देखिएको श्रम अभावलाई आधुनिक प्रविधिबाट समाधान गर्न नगरपालिकाले यान्त्रिकीकरणलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । आधुनिक उपकरणको प्रयोगले खेतीपाती समयमै सम्पन्न हुने, उत्पादन लागत घट्ने, श्रमको आवश्यकता कम हुने तथा उत्पादन र उत्पादकत्व वृद्धि हुने उहाँको भनाइ छ । कृषिलाई निर्वाहमुखीबाट व्यावसायिक बनाउने अभियानमा यस्ता कार्यक्रम प्रभावकारी साबित हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।
नगर प्रमुख पोतिलाल चौधरीले अन्य स्थानीय तहको तुलनामा बेलौरी नगरपालिकाले कृषि क्षेत्रलाई हरेक वर्ष उच्च प्राथमिकतामा राख्दै उल्लेखनीय बजेट विनियोजन गर्दै आएको बताउनुभयो । कृषकको मेहनतलाई प्रविधिसँग जोडेर उत्पादन बढाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले वितरण गरिएका उपकरणको प्रभावकारी प्रयोगबाट कृषकको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा पनि कृषि क्षेत्रलाई थप सुदृढ बनाउन नगरपालिकाले आवश्यक सहयोगलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
नगर उपप्रमुख जोगराम चौधरीले बेलौरीको समृद्धिको आधार कृषि भएकाले कृषकलाई आधुनिक प्रविधिसँग जोड्न नगरपालिकाले निरन्तर लगानी गरिरहेको बताउनुभयो । आधुनिक उपकरणको प्रयोगले उत्पादन वृद्धि, लागत न्यूनीकरण र आम्दानी वृद्धि हुने विश्वास व्यक्त गर्दै उहाँले कृषिलाई व्यावसायिक बनाउन सबै कृषकलाई आग्रह गर्नुभयो । विगतमा वितरण गरिएका उपकरणहरूको सदुपयोगमा प्रश्न उठ्ने गरेको उल्लेख गर्दै लाभग्राही किसानहरूले प्राप्त सामग्रीहरूको सदुपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीले आधुनिक कृषि प्रविधिबिनाको कृषि अब प्रतिस्पर्धी बन्न नसक्ने बताउनुभयो । कृषि यान्त्रिकीकरणले खेतीलाई छिटो, सहज र कम लागतमा सञ्चालन गर्न सहयोग पुग्ने उल्लेख गर्दै उहाँले अनुदानमा प्राप्त उपकरणको सही प्रयोगबाट कृषकले प्रत्यक्ष लाभ लिनुपर्ने धारणा राख्नुभयो ।
वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकाल, वडा नम्बर ८ का वडाध्यक्ष विषराम राना र वडा नम्बर १० का वडाध्यक्ष सोमलाल चौधरीले अनुदानमा वितरण गरिएका कृषि उपकरणको अधिकतम सदुपयोग गर्न कृषकहरूलाई आग्रह गर्नुभयो । सरकारी लगानीको उद्देश्य कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउनु भएकाले प्राप्त सामग्री कुनै पनि अवस्थामा बिक्री वितरण नगरी उत्पादन वृद्धि र आयआर्जन बढाउन प्रयोग गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो । आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्षेत्रलाई थप प्रतिस्पर्धी र उत्पादनमुखी बनाउन सबै कृषक एकजुट हुनुपर्ने उहाँहरूको भनाइ छ ।
बेलौरी-३ कृषक समन्वय समितिका अध्यक्ष फूलचरण चौधरीले नगरपालिकाले कृषकको आवश्यकता पहिचान गरेर यान्त्रिकीकरणमा लगानी बढाउनु सकारात्मक भएको बताउनुभयो । पछिल्ला वर्षमा कृषि क्षेत्रमा श्रमिक अभाव गम्भीर बन्दै गएकाले आधुनिक उपकरण अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा अझ विस्तार गर्नुपर्ने सुझाव दिनुभयो । अनुदानमा प्राप्त उपकरणको सही सदुपयोग गर्न सके उत्पादन वृद्धि, लागत न्यूनीकरण र कृषकको आम्दानी बढाउन उल्लेखनीय सहयोग पुग्ने उहाँको भनाइ छ ।
अनुदानमा आधुनिक कृषि सामग्री पाएपछि लाभग्राही कृषकहरू पनि उत्साहित देखिनु भएको छ । बेलौरी-४ की कलावती जैसीले पहिले खेतीपातीका लागि धेरै जनशक्ति आवश्यक पर्ने, मजदुर सजिलै नपाइने र खर्च पनि धेरै लाग्ने गरेको स्मरण गर्दै नगरपालिकाले अनुदानमा उपलब्ध गराएको उपकरणले खेती गर्न धेरै सहज हुने बताउनुभयो । उपकरणको प्रयोगबाट समयको बचत हुनुका साथै उत्पादन बढाउन समेत सहयोग पुग्ने उहाँको विश्वास छ । यस्तै, बेलौरी-८ की रमिता रानाले आधुनिक उपकरणका कारण महिलाले पनि सहज रूपमा खेती गर्न सक्ने अवस्था बनेको बताउँदै नगरपालिकाको सहयोगले थप हौसला मिलेको बताउनुभयो । परम्परागत शैलीभन्दा प्रविधिमैत्री र व्यावसायिक खेतीतर्फ आफूहरू अघि बढ्ने उहाँको भनाइ छ । बेलौरी-६ की सुदामा रानाले पहिलेको तुलनामा अब खेती गर्न धेरै सहज हुने विश्वास व्यक्त गर्नुभयो । बेलौरी-८ की मुन्नी रानाले आधुनिक उपकरणले समय र श्रम दुवैको बचत गर्ने बताउँदै उत्पादन बढाउने लक्ष्यका साथ काम गर्ने बताउनुभयो । बेलौरी-९ का सुरेन्द्र प्रसाद भट्टले कृषि क्षेत्रमा बढ्दो श्रम अभावका बेला नगरपालिकाको सहयोग निकै उपयोगी भएको प्रतिक्रिया दिनुभयो । बेलौरी-५ का प्रेमबहादुर चौधरीले आधुनिक प्रविधिको प्रयोगले खेतीलाई थप व्यावसायिक बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
वितरण गरिएका कृषि सामग्रीप्रति अधिकांश लाभग्राही कृषक उत्साहित देखिए पनि केही कृषकले आफूहरूले रोजेको कम्पनीको इन्जिन नपरेको भन्दै भारतीय कम्पनीको इन्जिन उपलब्ध गराइदिन अनुरोध गर्नु भएको छ । उहाँहरूका अनुसार चिनियाँ कम्पनीको भन्दा भारतीय कम्पनीको इन्जिनप्रति आफ्नो विश्वास बढी रहेकाले सटहीको व्यवस्था गरिदिन माग गरिएको हो । यस विषयमा कृषि विकास शाखाले लाभग्राहीको रोजाइलाई सम्मान गर्दै प्रचलित प्रक्रिया अनुसार थप दस्तुर तिरेर इन्जिन सटही गर्न सकिने व्यवस्था रहेको स्पष्ट पारेको छ । शाखाका अनुसार यो सामान्य प्राविधिक विषय भएकाले वितरण प्रक्रियामा कुनै विवाद नरहेको र आवश्यक समन्वयमार्फत समाधान गरिनेछ ।
स्थानीय क्षेत्रमा 'कृषि वैज्ञानिक' का रूपमा परिचित अगुवा किसान आसरेराम वडायकले अहिले कृषि क्षेत्रमा श्रमिक अभाव र बढ्दो उत्पादन लागत सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको बताउनुहुन्छ । उहाँका अनुसार यान्त्रिकीकरणले जनशक्ति अभावको समाधान मात्र गर्दैन, खेतीको सम्पूर्ण चक्रलाई समयमै सम्पन्न गर्न सहयोग गर्छ । खेत तयारीदेखि रोपाइँ, गोडमेल र बाली भित्र्याउने कामसम्म आधुनिक उपकरण प्रयोग गर्न सके उत्पादन लागत उल्लेख्य रूपमा घट्ने र प्रतिस्पर्धात्मक कृषि सम्भव हुने उहाँको विश्लेषण छ । स्थानीय सरकारले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै किसानलाई प्रविधिसँग जोड्न सके बेलौरी मात्र होइन, समग्र कृषि क्षेत्रमै सकारात्मक परिवर्तन आउने उहाँको विश्वास छ ।
वितरण कार्यक्रममा सहभागी वक्ताहरूले कृषि क्षेत्रमा सरकारी अनुदानको उद्देश्य कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउनु भएकाले वितरण गरिएका उपकरणको दुरुपयोग हुन नहुनेमा जोड दिनुभयो । उहाँहरूले कृषि उत्पादन बढाउन, लागत घटाउन र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्दै अनुदानमा प्राप्त सामग्री कुनै पनि अवस्थामा बिक्री वितरण नगर्न कृषकहरूलाई आग्रह गर्नुभयो ।
बेलौरी नगरपालिकाले पछिल्ला वर्षहरूमा कृषि क्षेत्रलाई स्थानीय आर्थिक विकासको प्रमुख आधार मानेर सिँचाइ, बीउ, कृषि सामग्री, यान्त्रिकीकरण तथा व्यावसायिक खेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । आधुनिक कृषि प्रविधिलाई गाउँ-गाउँसम्म विस्तार गर्ने नगरपालिकाको अभियानले कृषकमा नयाँ आशा जगाएको छ । उत्पादन बढाएर आत्मनिर्भर कृषि अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । खेतीलाई श्रममा आधारित परम्परागत प्रणालीबाट प्रविधिमैत्री प्रणालीतर्फ रूपान्तरण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएका यस्ता कार्यक्रमले कृषकको उत्पादन लागत घटाउनुका साथै कृषि पेसाप्रतिको आकर्षण बढाउने विश्वास गरिएको छ । स्थानीय सरकारको निरन्तर लगानी र कृषकको बढ्दो उत्साहले बेलौरीमा आधुनिक कृषि विस्तारको नयाँ आधार तयार हुँदै गएको देखिन्छ ।