काठमाडौँ, १४ वैशाख । सरकारले विभिन्न १० प्रकारका सामग्रीको आयातमा पूर्णतया रोक लगाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न सामग्रीको आयातमा रोक लगाउने जनाएको छ । रोक लगाएका सामग्री स्वदेश भित्र्याउन पाइने छैन । वैशाख १३ भन्दा अगाडि बैङ्किङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा यो नियम लागू हुने छैन ।
रोक लगाइएका सामग्रीहरूमा कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरू, सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थ बाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ बाहेक), हिरा (औद्योगिक कच्चा पदार्थबाहेक), ६०० अमेरिकी डलरभन्दा बढी मूल्य भएका मोबाइल सेट, ३२ इञ्चभन्दा माथिका रङ्गिन टेलिभिजन, जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शव वाहन बाहेक), २५० सिसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तास छन् । कूटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैँ पैठारी गर्न पाउने मन्त्रालयले जनाएको छ ।

