हरिश्चन्द्र बाग, कञ्चनपुर, २१ असार । सुदूरपश्चिमको शैक्षिक पहुँचमा नयाँ किरण छर्न थालेको छ, कञ्चनपुरस्थित सार्क एजुकेसन फाउण्डेसनले ऐतिहासिक छात्रवृत्ति कार्यक्रममार्फत । आर्थिक रूपमा कमजोर, सामाजिक रूपमा पछाडि पारिएका तथा अध्ययनमा उत्कृष्ट क्षमताका विद्यार्थीका लागि सार्क एजुकेसन फाउण्डेसनले सुरु गर्न लागेको यो कार्यक्रम सुदूरपश्चिमकै नमुना योजनाका रूपमा देखिएको छ । फाउण्डेसनले कक्षा ११ र १२ का लागि विशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो ।
कञ्चनपुरका भीमदत्त नगरपालिका, दोधाराचाँदनी नगरपालिका र वेदकोट नगरपालिकाका प्रत्येक वडाबाट ५ जना छात्रछात्रालाई छनोट गरी कूल २०० जनालाई छात्रवृत्ति प्रदान गरिने फाउण्डेसनका प्लस टु संयोजक भागवत भट्टले जानकारी दिनुभयो । ‘शिक्षा हरेक नागरिकको मौलिक अधिकार हो । हामी शिक्षा सुलभ बनाउँदै सबै वर्गका विद्यार्थीहरूलाई अवसर दिलाउने प्रयासमा छौँ,’ संयोजक भट्टले भन्नुभयो, ‘स्थानीय तहको सक्रिय सहयोगले यस अभियानलाई अझै प्रभावकारी बनाउन सकिने छ ।’
छात्रवृत्तिको स्वरूप यस्तो छ :
- प्रत्येक वडाबाट १ जना विद्यार्थीलाई १०० प्रतिशत छात्रवृत्ति (भर्ना शुल्क पूर्ण छुट)
- प्रत्येक वडाबाट २ जना विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति
- प्रत्येक वडाबाट २ जना विद्यार्थीलाई ४० प्रतिशत छात्रवृत्ति
छात्रवृत्तिका लागि सम्बन्धित वडा कार्यालयहरूमार्फत विद्यार्थीको नाम सिफारिस गर्न पत्राचार गरिएको छ । छनोट प्रक्रिया विद्यार्थीको शैक्षिक योग्यता, पारिवारिक आर्थिक अवस्था र सामाजिक पृष्ठभूमिमा आधारित हुनेछ ।
प्राथमिकता पाउने समूहहरू :
- दलित समुदायका विद्यार्थी
- आदिवासी तथा जनजाति समुदाय
- एकल महिलाका सन्तान
- आर्थिक रूपमा कमजोर वर्ग
- सामाजिक रूपले पछाडि पारिएका विद्यार्थी
फाउण्डेसनले छात्रवृत्तिसँगै समग्र विद्यार्थी हितलाई केन्द्रमा राख्दै नर्सरीदेखि कक्षा १२ सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका लागि स्वास्थ्य बिमा कार्यक्रमसमेत कार्यान्वयनमा ल्याएको छ । शिक्षालाई अधिकारको रूपमा लिई शिक्षामा समावेशिताको मूल्यमान्यता फैलाउँदै सार्क एजुकेसन फाउण्डेसनले समतामूलक शिक्षाको सन्देश दिएको छ । यो कार्यक्रम राज्यका लागि पनि प्रेरणा बन्न सक्ने गरी अघि बढेको हो । शैक्षिक रूपान्तरणका लागि यस्ता कार्यक्रमहरू गाउँ गाउँमा फैलन सके, पछाडि पारिएका वर्ग र समुदायका बालबालिकाले पनि उज्ज्वल भविष्य निर्माणको बाटो पाउनेछन् भन्ने आशा गरिएको छ ।