कञ्चनपुर, १७ असार । कञ्चनपुर उद्योग वाणिज्य संघको १७ औँ कार्यकारिणी समितिको निर्वाचन अन्तर्गत बिहीबार वरिष्ठ उपाध्यक्ष सहित एघार जना निर्विरोध निर्वाचित भएका छन् । वाणिज्य संघ निर्वाचन समितिको कार्यालयले बिहीबार बेलुकी ४ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय सीमा दिएको थियो । हालसम्म वरिष्ठ उपाध्यक्षमा युवा व्यवसायी दिनेश मल्ल, उद्योग उपाध्यक्षमा सुरेश गुरुङ, सचिवमा राहुल भट्ट र कोषाध्यक्षमा चेतराज जोशी निर्विरोध निर्वाचित भएका छन् ।
त्यसै गरी कार्यकारिणी समितिको सात जना सदस्य समेत निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरूमा भोजराज अवस्थी, प्रदीप पाल, मीनराज भट्ट, प्रेमप्रकाश पाठक, विशाल सोनार, गोपालसिंह बुडापाल, नरेन्द्र प्रसाद जोशी र संस्थागत सदस्यतर्फ चन्द्र बुडा निर्वाचित भएका छन् । बिहीबार दिनभरि सहमतिमै नेतृत्व चयन गर्न व्यवसायीहरू प्रयासरत रहे पनि सहमति जुट्न सकेन । अध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिव पदका लागि असार २५ गते निर्वाचन हुनेछ ।
अध्यक्ष पदका लागि व्यवसायी पीताम्बर जोशी र गणेश चुनावी प्रतिस्पर्धामा उत्रिँदै छन् । त्यस्तै वाणिज्य उपाध्यक्षमा धर्मसिंह रावल र विनोद जोशी बिच प्रतिस्पर्धा हुनेछ भने महासचिव पदमा निर्मला सापकोटा भट्ट र खगेश्वर बोहरा चुनावी मैदानमा उत्रिएका छन् । उद्योग वाणिज्य संघमा जिल्ला भरी छरिएर रहेका तीन हजार दुई सय भन्दा बढी व्यापारी÷व्यवसायी निर्वाचनमा मतदाता रहेका छन् ।