हरिश्चन्द्र बाग, कञ्चनपुर, १० माघ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले विविध कार्यक्रमका साथ ५८ औँ वार्षिकोत्सव मनाएको छ । बैङ्कको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरू तथा विभिन्न शाखा कार्यालयहरूबाट विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाइएको छ । देशभर हालसम्म ७ वटै प्रदेश, ७७ वटै जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग कार्यालय सञ्चालनमा रहेको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले जनाएको छ ।
यसैबिच, कञ्चनपुरको बेलौरीमा रहेको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड श्रीपुर बेलौरी शाखाले पनि ५८औँ वार्षिकोत्सवको अवसरमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरी मनाएको छ । त्यस क्रममा श्रीपुर बेलौरी शाखाका प्रबन्धक महेशराज भट्टले बैङ्कका सेवा सुविधाका बारेमा सहभागीहरूलाई जानकारी गराउनु भयो । २०४४ सालतिर बेलौरीमा स्थापित राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड श्रीपुर बेलौरी शाखालाई प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सहयोग गरी अहिलेको अवस्थासम्म पुर्याउने सबै व्यक्ति तथा संघसंस्थाहरूलाई स्मरण गर्दै उहाँले सबै सेवाग्राहीहरूलाई समेत धन्यवाद ज्ञापन गर्नुभयो । शाखा प्रबन्धक भट्टले आगामी समयमा बैङ्कका सेवाहरूलाई थप प्रभावकारी र प्रविधियुक्त बनाउने बैङ्कको नीति रहेको सुनाउनु भयो ।