हरिश्चन्द्र बाग, कञ्चनपुर । शनिबार कञ्चनपुरको बेलौरी उद्योग वाणिज्य संघले चौथो वार्षिक साधारण सभा आयोजना गर्यो । संघको सभा हलमा आयोजित समुद्घाटन समारोहमा बोल्ने अधिकांश वक्ताहरूले उद्योगी, व्यापारीका पीडा र भन्सार नाकाको चर्चा गर्नुभयो ।
पछिल्लो समयमा व्यापार व्यवसाय निरन्तर ओरालो लागेको प्रति प्रायः सबै वक्ताहरूले चिन्ता व्यक्त गर्नुभयो । आर्थिक मन्दीले देश नै थलिएको अवस्थामा ग्रामीण क्षेत्रमा हुने व्यापार व्यवसाय त झन् कमजोर भयो नै । त्यसैमा यहाँका धेरैजसो ग्राहकहरू सिधै सीमावर्ती भारतीय बजारमा गई किनमेल गर्ने क्रम बढेपछि त त्यसको असर नपर्ने कुरै भएन । सभा हलको आधाभन्दा बढी क्षेत्र खाली नै थियो । त्यहाँ राखिएका कुर्चीहरू समेत आधा त खाली नै थिए । सभामा उपस्थित अधिकांश व्यवसायीहरूको अनुहार समेत मलिन नै देखिन्थ्यो ।
समुद्घाटन समारोहको प्रमुख अतिथि समेत रहनु भएका बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले समेत व्यवसायीहरूको अनुहारमा खुसीयाली छाउन सक्ने गरी कुनै योजना सुनाउन सक्नु भएन । बरु उहाँले पनि व्यापारी, व्यवसायीहरूको मलिनतालाई नै मौन समर्थन गर्नुभयो । त्यस क्रममा नगर प्रमुख चौधरीले बेलौरी छोटी भन्सार नाकाको स्तरोन्नति, सीमा सुरक्षा लगायतका लागि हालै प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएको उल्लेख गर्नुभयो । उहाँले सबै पक्षको सहकार्य र सहयोगमा विकासका गतिविधि सञ्चालन गर्न सकिने धारणा राख्नुभयो ।
नगर उपप्रमुख जोगराम चौधरीले नगरको समृद्धि निजी क्षेत्रको सहकार्यबिना सम्भव नहुने धारणा व्यक्त गर्नुभयो । बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउँदले देश संघीय संरचनामा गएसँगै निजी क्षेत्रको भूमिका र जिम्मेवारी थपिएको उल्लेख गर्नुभयो । व्यवसायीका लागि कर छुट, ब्याज छुटलगायत पुनर्लगानीका विषयमा मौद्रिक नीति तथा आर्थिक नीति मार्फत ल्याइएका कार्यक्रमहरूलाई लागु गर्न सरकारलाई अनुरोध गर्दै उहाँले कोरोनाका कारण प्रभावित बनेको उद्योग व्यवसाय क्षेत्रको प्रबद्र्धनमा थप ठोस कार्यक्रमहरु ल्याइनु पर्ने धारणा राख्नुभयो ।