कञ्चनपुर, बैशाख १६ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ मोतिबस्तीमा रहेको सरस्वती माध्यमिक विद्यालयले शनिबार सफल अभिभावकत्व सम्बन्धी एक दिवसीय उत्प्रेरक अभिमुखीकरण कार्यक्रम गरेको छ । ग्लोबल स्किल डेभ्लप्मेन्ट नेपालका प्रबन्ध निर्देशक क्षेत्र प्रसाद ज्ञवालीले शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई एकै मञ्चमा प्रेरणादायक अभिमुखीकरण गर्नु भएको थियो । आफ्ना बालबालिकाहरूलाई सत्मार्गमा कसरी हिँड्न सिकाउने, घरमा कसरी शिक्षा दिने लगायतका विषयमा ज्ञवालीले प्रशिक्षण दिनु भएको हो । बालबालिकाका लागि शिक्षा सिकाउने पहिलो थलो घर र आमाबुवा भएकोले बालबालिकालाई संस्कार सिकाउने मुख्य कर्तव्य अभिभावकले पालना गर्नुपर्ने प्रशिक्षक ज्ञवालीको भनाइ छ ।
सरस्वती माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष मीन बहादुर तामाङको सभापतिमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पुनर्वास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष डम्बर बहादुर थापा, विशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर सुनार, निवर्तमान वडाध्यक्ष सन्तकुमार चौधरी सहित अभिभावकहरू, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर सुनारले अभिभावकलाई सहभागी गराई अभिमुखीकरण कार्यक्रम गराउन पाउँदा खुसी लागेको बताउँदै शिक्षक, अभिभावक र विद्यार्थी समन्वय गरेर अगाडि बढ्न सके शिक्षालाई अझै प्रभावकारी बनाउन सकिने बताउनुभयो ।
पुनर्वास नगरपालिका वडा नम्बर २ का निवर्तमान वडाध्यक्ष सन्त कुमार चौधरीले कार्यक्रमका प्रशिक्षक ज्ञवालीलाई धन्यवाद ज्ञापन गर्दै उक्त कार्यक्रमबाट धेरै ज्ञानका कुरा सिकिएको र यस्ता अभिमुखीकरण कार्यक्रम पुनर्वास नगरपालिका भित्रका सबै विद्यालयमा गर्न सके शिक्षाले फड्को मार्ने बताउनु भयो । कार्यक्रम समापनका क्रममा बोल्दै कार्यक्रम सभापति मीन बहादुर तामाङले उक्त कार्यक्रमबाट धेरै कुरा सिकेको बताउँदै कार्यक्रममा सहभागी सम्पूर्णमा धन्यवाद दिनुभयो । कार्यक्रमको सहजीकरण सरस्वती माध्यमिक विद्यालय मोतीबस्तीका सहायक प्रधानाध्यापक महावीर चन्दले गर्नुभएको थियो । नयाँ शैक्षिक सत्रमा भर्ना कार्यक्रम जारी रहेको बताउँदै विद्यालयका प्रधानाध्यापक जितेन्द्र प्रसाद पौडेलले शैक्षिक गुणस्तर उकास्नका लागि विद्यालयले यस शैक्षिक सत्रमा कक्षा १ देखि १० कक्षासम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट अध्यापन गराइने जानकारी दिनुभयो ।