तर्कराज भट्ट, डडेलधुरा, ०९ जेठ । डडेलधुरा अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका करुणाकर ओझाले पदभार ग्रहण गरेका छन् । स्वास्थ्य मन्त्रालयस्तरको निर्णयले पुनः अध्यक्षमा नियुक्त भएका ओझाले सोमबार पदभार ग्रहण गरेका हुन् । यस्तै अस्पताल विकास समितिको सदस्यमा नियुक्त भएका देवकी भट्ट (बोहरा) र जनक बहादुर मल्लले पनि पदभार ग्रहण गरेका छन् ।
अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका अध्यक्ष ओझाले पदभार ग्रहण गर्दै नेपाल सरकारले दिएको यो जिम्मेवारीलाई अवसर र चुनौतीको रूपमा लिएको बताएका छन् । उनले अस्पतालले उपलब्ध गराउने सेवालाई सर्वसुलभ रूपमा पुर्याउन सक्रिय भएर लाग्ने बताए । आफ्नो अघिल्लो कार्यकालमा पनि उल्लेख्य राम्रा कामहरू भएको तर अस्पतालको कमीकमजोरी मात्र कोट्याउने प्रवृत्तिले राम्रा कामहरू ओझेलमा पर्ने गरेको गुनासो गरे । अस्पतालले दिने सेवालाई चुस्तदूरुस्त बनाउने उनको योजना छ । अध्यक्ष हुँदा पहिलो कार्यकालमा पनि कोरोना भाइरसको महामारीमा अहोरात्र खटिएको उल्लेख गर्दै कोरोनाको त्यो परिस्थितिमा पनि थुप्रै काम गरेको उनले बताए । अबको दिनमा प्रशासनिक क्षेत्रलाई सुधार गर्दै पाँच सय शय्याको अस्पताल सञ्चालनमा आवश्यक दरबन्दी स्वीकृत गर्ने प्रक्रियामा आफू अहोरात्र खटिएर अस्पतालको सेवालाई गुणस्तरीय बनाउने उनको प्रतिबद्धता छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई व्यवहारिक भएर सशक्त रूपमा सेवाग्राहीको सेवा गर्न उनलेे निर्देशन दिए । अस्पतालमा लाग्ने सेवा शुल्कलाई पुनर्बिचार गरेर सहज रूपमा सेवा दिन आफूले पहल गर्ने बताउँदै अध्यक्ष ओझाले स्वास्थ्य बिमा कार्यक्रमलाई सबैको पहुँचमा पुर्याउन जिल्लामा रहेका सात ओटै पालिका सँग समन्वय गरेर अगाडि बढ्ने उनको भनाइ छ । विशिष्टीकरणको स्वास्थ्य सेवा दिन गुरु योजना बनाएर अगाडि बढ्ने बताउँदै उनले जनस्तरबाट आउने गुनासाहरूलाई सुझावको रूपमा लिने उल्लेख गरे । उनले आउँदो फागुन देखी मेडिकल कलेज सञ्चालन गरी पढाई सुचारु गर्न अस्पताल विकास समितिले आवश्यक भूमिका निर्वाह गर्ने बताएका छन् । यसअघि वैशाख १७ गतेको मन्त्री स्तरीय निर्णयबाट बैशाख २६ गते अस्पतालको अध्यक्षमा लक्ष्मण सिंहलाई नियुक्त गरिएको थियो तर जेठ ३ गतेको मन्त्री स्तरीय निर्णयले फेरी उनको नियुक्तिलाई बदर गर्दै ओझालाई अध्यक्षमा नियुक्त गरेको हो ।